राहदानी बनाउने गत वर्ष महिला बढी, यस वर्ष पुरुष

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:४७
  • सरस्वती न्यौपाने

धुन्चे, जिल्ला प्रशासन कार्यालय रसुवामा चालू आ.व. ०८०/८१ को साउनदेखि माघ ८ गतेसम्मको तथ्याङ्क हेर्दा महिला र पुरुष गरी एक हजार ७७ जनाले राहदानी बनाएका छन् ।

कार्यालयले दिएको जानकारीअनुसार राहदानी शाखाको तथ्याङ्क हेर्दा साउनमा महिला ९९ जना, पुरुष एक सय ४० जना, भदौमा महिला ५५, पुरुष एक सय ६ जना, असोजमा महिला ७० जना, पुरुष ७९ जना, कात्तिकमा महिला ५२ जना, पुरुष ६२ जना, मङ्सिरमा महिला ८१ जना, पुरुष एक सय १० जनाले राहदानी बनाएका छन् । त्यसैगरी, पुसदेखि माघको ८ गतेसम्म महिला १८ जना र पुरुष ३१ जना गरी महिला चार सय ४५ र पुरुष ६ सय ३२ ले राहदानी बनाएका छन् । गत वर्ष पुरुषको भन्दा राहदानी बनाउने महिलाको सङ्ख्या बढी थियो । चालू आ.व.मा भने महिलाको सङ्ख्या कमी देखियो । प्रायः साबिकको यार्सा गाविसलगायत जिल्लाभरबाट पुरुषको तुलनामा महिला घर चलाउन कम उमेरमा नागरिकता बनाउने र लगत्तै राहदानी बनाएर विदेश जाने लर्काे नै लाग्दथ्यो । आजभोलि कमै छन् । हाल रसुवागढी नाका खुलेसँगै रसुवाका नागरिकले चीनको केरुङमा रोजगारी पाउने भएपछि राहदानी बनाइरहनु नपर्ने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् ।