विदुर मेयरकप फुटबल जारी

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १२:१०

बट्टार, विदुर नगरपालिकाको आयोजनामा शनिबारबाट सुरु भएको जिल्लास्तरीय विदुर मेयरकप फुटबल प्रतियोगिता जारी रहेको छ । नुवाकोट जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा सुरु भएको उक्त प्रतियोगिता विदुर नगरपालिका–४ बट्टारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भइरहेको छ ।

जिल्लाका १० वटा पालिकाका टिमले भाग लिएको प्रतियोगिताको उद्घाटन सङ्घीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । खेल–तालिकाअनुसार ककनी, लिखु, सूर्यगढी र तारकेश्वर गाउँपालिका समूह ‘ए’मा रहेका छन् । समूह ‘बी’मा बेलकोटगढी नगरपालिका, किस्पाङ र शिवपुरी गाउँपालिका रहेका छन् । यस्तै, आयोजक टोली विदुर नगरपालिका, तादी र म्यागङ गाउँपालिका समूह ‘सी’ मा रहेका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले चार लाख चार हजार चार सय ४४ रुपैयाँ र दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी, अनुशासित टिम, सर्वाधिक गोलकर्ता र म्यान अफ दी म्याचले समेत पुरस्कार प्राप्त गर्ने विदुर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्त गिरीले जानकारी दिए । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशि पुरस्कार राखिएको यो प्रतियोगितामा पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाले भाग लिएनन् । जिल्लामै खेलिरहेका खेलाडीले भन्दा पनि जिल्लाबाहिरका खेलाडीले अवसर पाएको यो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।