स्वास्थ्य शिविरबाट २७० ले सेवा पाए

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १२:१२

धुन्चे, नौकुण्ड गाउँपालिका र एएनएमएस संस्थाको संयुक्त आयोजनामा दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाको सिङबन्दी र थाङदोरमा माघ १४ र १५ गते भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ७० जनाले सेवा पाएका छन् ।

यी दुई ठाउँमा यातायात र स्वास्थ्य सुविधा सरल र सहज नहुँदा स्थानीय जनताले स्वास्थ्य सेवाबाट वञ्चित हुन परिरहेको अवस्थामा यो शिविरबाट स्थानीयले स्वास्थ्यलाभ लिएका छन् । शिविरमा मधुमेह, उच्च रक्तचाप, दम, ग्यास्ट्रिक, नाक, कान, घाँटी, महिलासम्बन्धी र अन्य विविध रोगको चेकजाँच र उपचार गरिनुका साथै हात धुने विधि, धूम्रपान र मद्यपानको गम्भीर असरबारे जानकारी गराइएको एएनएमएसका अध्यक्ष डाक्टर सरोज श्रेष्ठले जानकारी दिए । उक्त ठाउँका स्थानीय निःशुल्क स्वास्थ्य सेवा पाउँदा हर्षविभोर भएको नौकुण्ड गाउँपालिका–१ का अध्यक्ष कान्छा तामाङले बताए । शिविरमा सिङबन्दी र थाङदोरमा रहेको प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कपी, कलम, कटर, इरेजर वितरण गरिएको थियो ।