नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १२:१५

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घले माघ २६ देखि फागुन ७ गतेसम्म विदुरमा गर्ने नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ०६३ देखि सङ्घले सुरु गरेको महोत्सव यसपटक विदुर नगरपालिका–४ को विदुरमा हुँदै छ । सङ्घको आयोजनामा विदुरमा माघ २६ देखि हुन महोत्सव आठौँ संस्करण हो ।

सङ्घले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । सङ्घले ०६३ देखि स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीयले माग गरेअनुसार महोत्सवमा निःशुल्क स्टल उपलब्ध गराएको थियो । महोत्सवमा स्थानीय लघु घरेलु तथा कृषि उत्पादनको प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरेको छ । स्थानीय लघु, घरेलु तथा कृषि उत्पादनका बजारीकरण र प्रवद्र्धन मुख्य उद्देश्य रहेको आयोजक उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश, जिल्ला समन्वय समिति नुवाकोट र घरेलु तथा साना उद्योग कार्यालय नुवाकोट रहेको छ । विदुर नगरपालिका संरक्षक रहेको महोत्सवको प्रमुख प्रायोजकमा द नेपाल डिस्टिलरी प्रा.लि. र सहप्रायोजकमा सिजी ब्रुअरी नेपाल, क्वालिटी केम प्रा.लि., सिटी स्क्वार, शिवशक्ति एग्रो प्रा.लि. (ऊर्जा चामल)लगायत रहेका छन् । विदुर नगरपालिकासहित जिल्लाको १२ वटै पालिकाका विभिन्न स्थानमा रहेका स्थानीय उत्पादनको खोजी र पहिचान गरेर महोत्सवमा ल्याउन पालिकासँग समन्वय र सहकार्य गरिरहेको सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

महोत्सवमा स्थानीय कृषि उत्पादनसँगै हस्तकलाका सामग्रीका लागि निःशुल्क स्टल उपलब्ध गराएर आउन प्रेरित गरिएकोसमेत उनले बताए । त्यस्तै, स्थानीय उद्योगले उत्पादन गरेका अन्य औद्योगिक सामग्रीका लागि स्टल शुल्कमा ३० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । गाउँ–गाउँमा भएका उत्पादनको विवरण सङ्कलन गर्ने काम भइरहेको कृषि प्रदर्शनी व्यवस्थापन समितिका संयोजक तथा सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिँदै स्थानीय कृषि सहकारी तथा हस्तकला उत्पादक सम्पर्कमा आइसकेको बताए । जिल्ला कृषि ज्ञान केन्द्र, घरेलु विकास कार्यालय, जिल्ला लघु उद्यमी सङ्घ र जिल्लाका विभिन्न पालिकाबीचको समन्वयमा स्थानीय उत्पादन र कृषि उपजको प्रदर्शनीको व्यवस्था मिलाइएको छ । महोत्सवमा कृषि ज्ञान केन्द्र र पशु अस्पताल तथा विज्ञ केन्द्रले स्थानीय रैथाने कृषि उत्पादन र पशुपक्षीको प्रदर्शनी गर्ने तयारी गरिरहेका छन् । मत्स्य अनुसन्धान केन्द्र त्रिशूलीले नुवाकोटमै अनुसन्धान गरी सफल भएको रेन्बो ट्राउट माछा, रङ्गीन माछासहित जिल्लामा पाइने स्थानीय जातका माछाको प्रदर्शनी र महोत्सवका आगन्तुकलाई परामर्श दिने व्यवस्था मिलाइएको छ ।

महोत्सवको स्टल बनाउने कार्य यसै हप्ता सकिने स्टल व्यवस्थापन समितिका संयोजक एवम् सङ्घका उपाध्यक्ष सविन राजभण्डारीले बताए । महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सङ्घले २९ वटा उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरी परिचालन गरिरहेको छ । महोत्सव अवधिभरका लागि जिल्लाबाहिरका लोकदोहोरी, आधुनिक गीतलगायत हास्य विधाका कलाकारसँग सम्झौता भइसकेको छ । महोत्सवको प्रचार–प्रसार विभिन्न माध्यमबाट तीव्र रूपले भइरहेको सङ्घका महासचिव उपेन्द्र बुढाथोकीले बताए । महोत्सवको तुल–ब्यानर जिल्लाभरि राख्ने काम भइसकेको, विदुर, बट्टारमा स्वागत गेट बनाइसकेको, जिल्लाभरि महोत्सवको जानकारी दिनेगरी माइकिङ सुरु गरिएकोसमेत उनले बताए । विगतको भन्दा मितव्ययी ढङ्गले महोत्सव सम्पन्न गर्ने तयारीमा सङ्घ रहेको छ । महोत्सवमा लगभग एक करोड आम्दानी र एक करोड नै खर्च गर्ने योजना बनाएर सङ्घ क्रियाशील भइरहेको सङ्घका कोषाध्यक्ष एवम् महोत्सवको प्रायोजक÷प्रवद्र्धक व्यवस्थापन समितिका संयोजक मेघनाथ घिमिरेले बताए । महोत्सवमा दुई सय ५० वटा स्टल रहनेछन् । महोत्सवको प्रवेश टिकट शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तथा सङ्घका सदस्यलाई निःशुल्क गरिएको सङ्घका कार्यसमितिका सदस्य एवम् टिकट व्यवस्थापन समितिका संयोजक पुरुषोत्तम कार्कीले बताए । महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तका लागि परिचयपत्रको आधारमा प्रवेश टिकट निःशुल्क गरिएको छ ।