राष्ट्रियसभामा बागमतीबाट नुवाकोटका श्रीकृष्ण निर्वाचित

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १२:१९

विदुर, २०७२ को संविधानले व्यवस्था गरेको माथिल्लो सदन (राष्ट्रिय सभा) को आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ पदका लागि गत बिहीबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट सत्तागठबन्धका चारैजना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट महिला कोटामा विष्णुकुमारी पुडासैनीले ६ हजार ६ सय २२, अल्पसङ्ख्यक–अपाङ्गता कोटामा नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारीले ६ हजार तीन सय ६३, दलित कोटामा एकीकृत समाजवादी धनश्याम रिजाल विश्वकर्माले ६ हजार पाँच सय १२ र अन्य कोटामा नेपाली काङ्ग्रेसका जितजंग बस्नेतले ६ हजार पाँच सय ३१ मतभार प्राप्त गरी निर्वाचित भएका छन् । अल्पसङ्ख्यक–अपाङ्गता कोटामा निर्वाचित श्रीकृष्ण अधिकारी नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका चोगदेका हुन् । प्रदेशमा अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर)का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन भएकोमा अल्पसङ्ख्यक र अपाङ्गता कोटातर्फ माओवादीका अधिकारी, महिला कोटातर्फ नेपाली काङ्ग्रेसकी पुडासैनी, दलितबाट नेकपा एकीकृत समाजवादीका विश्वकर्मा र अन्यबाट नेपाली काङ्ग्रेसका बस्नेत निर्वाचित भएका हुन् । अल्पसङ्ख्यक–अपाङ्गता कोटाबाट विजयी अधिकारीले ६ हजार चार सय ३६ मतभार प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विवेक देवकोटाले दुई हजार सात सय ३४ मतभार प्राप्त गरे । महिला कोटाबाट विजयी पुडासैनीले ६ हजार ६ सय २२ मतभार प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी रोचकुमारी चौलागाईंले दुई हजार पाँच सय ५२ मतभार प्राप्त गरिन् ।

यसैगरी, दलित कोटामा विजयी विश्वकर्माले ६ हजार पाँच सय १२ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे । अन्य कोटाबाट विजयी बस्नेतले ६ हजार पाँच सय ३१ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी त्रिलोचन निर्मल पौडेलले दुई हजार तीन सय ५९ मतभार प्राप्त गरे । राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने चारजना सदस्यको पद रिक्त हुँदै छ । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेशतर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदै छ । जसअनुसार महिला, अपाङ्गता–अल्पसङ्ख्यक, दलित र अन्य समूहका एक–एक सिटका लागि गत बिहीबारको निर्वाचनबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

प्रदेश सभाका एक सय १० र स्थानीय तहका दुई सय ३७ मतदातासहित तीन सय ४७ मतदाता रहेको बागमतीमा काठमाडौंका नगरप्रमुख बालेन्द्र साहसहित पाँचजना मतदानमा अनुपस्थित भए । प्रदेशतर्फ एक सय आठ र स्थानीयतर्फ दुई सय ३४ मतदाताले मतदान गरेका थिए । प्रदेशतर्फ दुई र स्थानीयतर्फ तीन मत खसेन । प्रदेशतर्फ हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्य र सरिता खड्की तथा स्थानीय तहतर्फ नुवाकोट किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ र काभ्रे चौँरीदेउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ मतदानमा सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । राष्ट्रिय सभाको ५९ सदस्यमध्ये आगामी फागुन २१ पछि नेकपा माओवादी केन्द्रको १७, नेपाली काङ्ग्रेसको १६, नेकपा एमालेको १०, नेकपा समाजवादीका आठ, जसपाको तीन, मनोनीत तीन, लोसपाको एक र राष्ट्रिय जनमोर्चाका एकजना रहनेछन् ।