सामुदायिक मेलमिलाप प्रशिक्षण सम्पन्न

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १३:३४

स्याफ्रुबेँसी, रसुवाको गोसाइँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समितिकी संयोजक प्रतिमा लामाको संयोजकत्वमा आठदिने समुदायिक मेलमिलाप प्रशिक्षण कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रम स्याफ्रुबेँसीको गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय सभाहलमा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाद्वारा पुस २८ गते उद्घाटन गरेपश्चात् कार्यक्रम सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको थियो ।

आठदिने मेलमिलाप आधारभूत तालिम कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तर केन्द्र नेपालको सहजीकरणमा भएको हो । उक्त कार्यक्रममा उपाध्यक्ष प्रतिमाले सामुदायिक मेलमिलाप अभियानलाई सङ्घीय नेपाल सरकारले मेलमिलाप ऐन, २०६८ र नियमावली, २०७० बमोजिम देशका सबै जिल्ला र स्थानीय तहमा कार्यक्रम विस्तार गर्ने उद्देश्यअनुसार गोसाइँकुण्ड गाउँपालिकाले आधारभूत मेलमिलाप तालिम कार्यक्रम आयोजना गरेको बताइन् । समुदायमा भएको विवादको मेलमिलाप गर्नु एउटा व्यावहारिक र मनोवैज्ञानिक तवरबाट समाधान निकाल्नु नै मेलमिलापकर्ताको विशेष महत्वपूर्ण भूमिका रहेको हुन्छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, गोसाइँकुण्ड गाउँपालिका–५ का अध्यक्ष दावा मिङ्मारलगायतका जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।