शनिबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड

उत्तरगयाको खाल्टे र बोगटीटारमा सञ्चालन हुने

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १३:३६

धुन्चे, आगामी माघ २० देखि २३ गतेसम्म आयोजना हुने ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उत्तरगया गाउँपालिकाको खाल्टे र बोगटीटारमा हुने भएको छ ।

माघ ४ गते जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सल्लाहकार समितिका संयोजक एवम् जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा सदरमुकाम धुन्चेमा बसेको बैठकले माघ २० देखि २३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगितामा निर्देशिकाअनुसार पालिकाभित्रबाट छनोट गरिएका भलिबल, एथलेटिक्स १००, २००, ४००, ८००, १५०० सय मिटर दौड, रिले दौड, हाइजम्प, त्रिपलजम्प, लङजम्प, सटफुट, ज्याभ्लिङथ्रो, तेक्वान्दोलगायतका खेल खेलाइने जिल्ला खेलकुद विकास समिति रसुवाले जनाएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमले प्रतियोगिता सञ्चालनका लागि खर्च धान्न कठिन भएको वेला उत्तरगया गापाले जिम्मेवारी वहन गरी खाल्टे र नीलकण्ठ माविको खेलमैदानमा गरिन लागेको बताइएको छ । विद्यालयस्तरीय र बालबालिकाको खेलप्रतिको लगावलाई थप बढावा दिई निखारता ल्याउन हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता साढे दुई दशकपछि दोस्रोपटक सदरमुकामबाहिर गर्न लागिएको हो ।

हरेक क्षेत्रमा जस्तै बालबालिकाको भविष्य खेलकुदमा पनि रहेकाले यसलाई पनि बढावा दिई प्रोत्साहन गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति रसुवाका कार्यालय प्रमुख रमेश श्रेष्ठले बताए । बैठकले प्रतियोगिताको खर्च विवरणसहितको प्रस्ताव तयार गरी प्रदेशको सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्मा पेस गर्ने जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष सुजन न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल नौ लाख ८१ हजार पाँच सय ५० रुपैयाँको लाग्ने र जिल्लामा कुल बजेट तीन लाख मात्रै प्राप्त भएको छ । ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सहभागी, व्यवस्थापनका लागि खटिने प्रशिक्षक तथा रेफ्री र पाहुनाका लागि यातायात, आवास व्यवस्था गर्न पाँचवटै पालिकाले विषयगत समिति बनाएर काम पूरा गर्ने बताइएको छ ।