प्रशिक्षण र चेकिङ जाँचले ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या र जरिवाना घटेन

  • त्रिशूली प्रवाह
  • १८ माघ २०८०, बिहीबार १४:२१

विदुर, सवारीसाधन उपयोग गर्दा हुन सक्ने जोखिम न्यूनीकरण गराउन नुवाकोटमा ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यलाई प्राथमिकतामा राखेको छ । ट्राफिक प्रहरीले जिल्लाका विद्यालयका विद्यार्थीदेखि सवारीचालक र सर्वसाधारणलाई समेत ट्राफिक नियमबारे प्रशिक्षण गराउँदै आएको छ ।

चालू आ.व. ०८०/८१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले ६ पटक सवारीचालकलाई सडकमा नै स्वास्थ्य परीक्षण गरेको थियो । यस चालू आवमा १५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिसकेको प्रहरी वरिष्ठ नायव निरीक्षक राजीवकुमार तिवारीले जानकारी दिए । यात्राका लागि सवारीसाधनमा आवत–जावत गर्दा, सवारीसाधन चढ्दा, ओर्लँदा यात्रुले पालना गर्नुपर्ने कार्य र चालकले यात्रुप्रति गर्नुपर्ने व्यवहार तथा नीति, नियमको विषयमा ट्राफिक प्रहरीले विद्यालयमै पुगेर जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । ट्राफिक गतिविधि बढिरहे पनि ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या र तिर्ने जरिवाना राजस्वको ग्राफ भने बढिरहेको छ । हामीले जरिवाना राजस्वलाई उठाउनेभन्दा नियम उल्लङ्घन गर्नेको सङ्ख्या न्यूनीकरण गर्ने लक्ष्य रहेको प्र.व.ना.नि. तिवारीले बताए । जिल्लामा चालू आवको ६ महिनामा नौ हजार तीन सय सवारीसाधन कारबाहीमा पर्दा ७७ लाख ३१ हजार रुपैयाँ राजस्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा चालू आवको ६ महिनामा ट्रक एक हजार ६ सय २८, बस/माइक्रो बस नौ सय ६५, कार, जिप र भ्यान एक हजार आठ सय १२, ट्र्याक्टर दुई सय ८३, मोटरसाइकल चार हजार एक सय २८, टेम्पो चार सय ८४ सवारीसाधनलाई ट्राफिकले कारबाही र जरिवाना गराएको छ । कारबाहीमा पर्ने सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन् । जिल्लालाई प्रेसर हुर्नमुक्त जिल्ला घोषणा गरिए पनि पूर्ण रूपमा पालना गराउन ट्राफिक प्रहरीले सकिरहेको छैन । जिल्लामा गुड्ने सवारीसाधनबाट चेकजाँचको क्रममा प्रेसर हर्न झिक्ने क्रम जारी राखेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।