श्रमदान र चन्दा सहयोगबाट

लिच्छविकालीन स्वयम्भूको पुनर्निर्माण सुरु

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १४:३०

विदुर, सरकारी निकायको प्राथमिकतामा नपरेको नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा रहेको प्रसिद्ध स्वयम्भू (चैत्य) विहारको पुनर्निर्माणको काम स्थानीयवासीको पहलमा अघि बढेको छ । इतिहासअनुसार करिब एक हजार चार सय वर्षअघि लिच्छविकालीन समयमा निर्माण गरिएको स्वयम्भू (चैत्य) लामो समयदेखि जीर्ण भएसँगै यस ऐतिहासिक स्थलको उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरूपमा नै पुनर्निर्माणका लागि स्थानीयवासीले आर्थिक सङ्कलन र श्रमदान गरेर काम अघि बढेको हो ।

विदुर नगरपालिकाको अनुरोधमा गत वर्ष पुरातत्व विभागले गरेको अध्ययनले लिच्छविकालीन समयको स्वयम्भू (चैत्य)को ‘तत्कालै संरक्षण गर्नुपर्ने’ जनाए पनि बजेट अभावको कारण देखाएर संरक्षणमा चासो नदिएपछि स्वस्फूर्त रूपमा स्थानीयबाट संरक्षणको काम भइरहेको नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण संस्थाका सदस्य तथा अभियन्ता गौतममान सिंहले जानकारी दिए । उनका अनुसार पुरातत्वविद्सँगको सहकार्यमा तयार गरिएको गुरुयोजनाअनुसार बुद्धसँग सम्बन्धित एक सय ८ चैत्य, तीन सयभन्दा बढी बोधिसत्व–तारा, एक हजार चार स्वयम्भू चैत्यसहित विशाल स्वयम्भू महाचैत्यको पुनर्निर्माण गर्न लागिएको हो । ‘स्वयम्भू (चैत्य) को पुनर्निर्माण तथा संरक्षणका लागि बनाइएको गुरुयोजनाअनुसार चार चरणमा काम सम्पन्न गर्ने लक्ष्य छ,’ अभियन्ता सिंहले भने, ‘दोस्रो चरणअन्तर्गत हाल चैत्य, बोधिसत्व, तारा निर्माणको काम भइरहेको छ भने यसपश्चात् विशाल महास्वयम्भू निर्माणको काम सुरु गरिनेछ ।’

स्वयम्भू–चैत्य निर्माणका लागि पहिलो चरणमा टुँडीखेलदेखि स्वयम्भू–चैत्यसम्म ढुङ्गेसिँढीको निर्माण गरेर र दायाँ–बायाँ बुद्ध धर्मसँग सम्बन्धित चिवा, चैत्य, मूर्तिको प्रतिस्थापन गरिएको छ । दोस्रो चरणअन्तर्गत १५ रोपनी जग्गालाई पूर्ण रूपमा ऐतिहासिक झलक दिने गरेर ढुङ्गे पर्खालको निर्माण गरेर एक सय आठ चैत्य, तीन सयभन्दा बढी बोधिसत्व–तारा, एक हजार चार स्वयम्भू चैत्यको प्राणप्रतिष्ठा गरेर मूर्ति प्रतिस्थापन गर्न लागिएको छ । तेस्रो चरणमा विशाल स्वयम्भू महाचैत्यको निर्माण गरिनेछ भने चौथो चरणमा बौद्धधर्मको अध्ययन केन्द्र, ध्यान केन्द्र, पुस्तकालयलगायतका संरचना निर्माणका लागि समुदाय र सङ्घ–संस्थाबाट सहयोग खोजेर स्थानीयवासीले गत असारदेखि सुरु गरेको कामलाई निरन्तर अघि बढाइएको छ । ऐतिहासिक तथा पुरातात्विक संरचना भए पनि लामो समयदेखि जीर्ण रहेको चैत्यको पुनर्निर्माणको क्रममा ‘पहिला जस्तो थियो त्यस्तै’ निर्माणका लागि गुरुयोजना बनाएर पुरातात्विक स्वरूपमा नै काम भइरहेको महाचैत्य संरक्षण संस्थाका अध्यक्ष ईश्वरमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म नुवाकोटसहित देशभरबाट श्रमदान, आर्थिक सहयोग र भगवान्को प्राणप्रतिष्ठासमेत गरेर करिब दुई करोड लगानीको काम सम्पन्न भइसकेको छ ।