जीर्ण बन्यो अन्तर्राष्ट्रिय नाकाको रोङ्गा पुल

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १४:३६
  • सरस्वती न्यौपाने

धुन्चे, नेपाल–चीन अन्तर्राष्ट्रिय नाका जोड्ने रोङ्गा खोलाको पुल जीर्ण बनेको छ । चीन सरकारको सहयोगमा स्याफ्रुबेँसी–रसुवागढी १६ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण हुँदा बनेको पुलको बीच भागमा अहिले प्वाल परेको छ ।

पुल स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा पर्छ । पासाङल्हामु सडकलाई गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीबाट रसुवागढी नाका जोड्ने उक्त पुल ०६६ मा चीन सरकारले निर्माण गरिदिएको हो । दैनिक चार–पाँच सय मालवाहक कन्टेनर गुड्ने पुल अहिले जीर्ण बनेको छ । ‘रसुवागढी नाकाबाट नियमित मालवाहक गाडी आउने पुल कति बेला ढल्ने हो भन्ने त्रास छ,’ गोसाइँकुण्ड गाउँपालिका–१ का अध्यक्ष उर्केन लामाले भने, ‘पुलको ढलान ठाउँ–ठाउँमा प्वाल परेको र पिलरको रङ खिया लागे पनि सडक विभाग वा कुनै निकायले चासो दिएको छैन ।’ उक्त पुल भएर गोसाइँकुण्ड गाउँपालिका १, २, ३ र आमाछोदिङ्मो गाउँपालिका ३, ४ र ५ तथा रसुवागढी नाका पुगिन्छ । ०५८ मा स्याफ्रुबेँसी सडक निर्माणका लागि दुवै सरकारबीच सम्झौता भएको थियो । लिच्छविकालमा अंशुबर्मा र उनकी छोरी भृकुटी यही नाका हुँदै घर–माइती गर्ने र तिब्बतसँगको व्यापार गर्ने मुख्य ऐतिहासिक नाका थियो ।