जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड कालिकाको पोल्टामा

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १४:४२
  • समिर रिजाल

धुन्चे, माघ २० देखि २२ गतेसम्म सञ्चालन भएको ११औँ रसुवा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ ।

कालिका गाउँपालिकाले २२ स्वर्ण, सात रजत, दुई कांस्य गरी पहिलो हुँदै सिल्ड प्राप्त गरेको हो । पाँच स्वर्ण, १२ रजत, नौ कांस्य गरी उत्तरगया गाउँपालिका दोस्रो भयो भने चार स्वर्ण, आठ रजत, आठ कांस्य गरी गोसाइँकुण्ड गाउँपालिका तेस्रो भएको हो । सान्त्वना हुनेमा नौकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिका रहेका छन् । नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारको खेलमैदानमा सम्पन्न ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमले प्रतियोगिता सञ्चालनका लागि खर्च धान्न कठिन भएपछि उत्तरगया गाउँपालिकाले सञ्चालनको जिम्मेवारी लिएको थियो । विद्यालयस्तरीय र बालबालिकाको खेलप्रतिको लगावलाई थप बढावा दिई निखारता ल्याउन हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगिता साढे दुई दशकपछि दोस्रोपटक सदरमुकामबाहिर भएको हो । प्रतियोगिता सञ्चालनका लागि कुल नौ लाख ८१ हजार पाँच सय ५० रुपैयाँको लागत लाग्ने र जिल्लामा कुल बजेट तीन लाख मात्रै प्राप्त भएको थियो । जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सहभागी, व्यवस्थापनका लागि खटिने प्रशिक्षक तथा रेफ्री र पाहुनाका लागि यातायात, आवास व्यवस्था गर्न पाँचवटै पालिकाले विषयगत समिति बनाएर काम पूरा गरेको खेलकुद विकास समिति रसुवाले जनाएको छ । बर्सेनि हुँदै आएको यो प्रतियोगिता साढे दुई दशकपछि दोस्रोपटक सदरमुकामबाहिर भयो । हरेक क्षेत्रमा जस्तै बालबालिकाको भविष्य खेलकुदमा पनि रहेकाले यसलाई पनि बढावा दिई प्रोत्साहन गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति रसुवाका कार्यालय प्रमुख रमेश श्रेष्ठले बताए ।

जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको सहआयोजनामा सम्पन्न भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य मोहन आचार्य, जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे विशेष अतिथि रहेका थिए । सो कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मीरा लामा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बुसाङ्वो घले, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीलगायतको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।