पाण्डेको ‘कान्छो सिडियो’ र ‘बाह्र–सत्तरी’ लोकार्पण

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १४:४४

काठमाडौं, नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० गेर्खुटारवासी साहित्यकार रेशमबहादुर पाण्डेद्वारा लिखित ‘कान्छो सिडियो’ (संस्मरण) तथा ‘बाह्र–सत्तरी’ (उपन्यास) को सोमबार काठमाडौंमा लोकार्पण भएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा वसुन्धरास्थित दियालो फुडल्यान्डमा लोकार्पण भएको हो ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व तथा साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नरेन्द्रराज पौडेल, लेखक रेशमबहादुर पाण्डे, अतिथि रामप्रसाद पन्त, युवराज मैनाली, डा. रामप्रसाद दाहाल, प्रह्लाद पोखरेल, ठाकुर शर्मा, राम लोहनी, अर्जुन विरक्तिले सामूहिक रूपमा दुई कृतिको एकैसाथ लोकार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पौडेलले प्रशासकीय भूमिकामा रहेर हाल अवकाश प्राप्त लेखकका जागिरे जीवनका प्रसङ्ग उठाउँदै लेखकका कृतिका लागि बधाई दिएका थिए । कार्यक्रमका सभापति प्रतिष्ठानका अध्यक्ष पन्तले पाण्डेद्वारा लिखित दुवै कृति उत्कृष्ट लागेकाले दायित्व वाङ्मय प्रकाशक बन्न तयार भएको स्मरण गर्दै प्रतिष्ठानले साहित्यिक कृति प्रकाशनबारे पु¥याउँदै आएको योगदानबारे चर्चा गरेका थिए । लेखकीय मन्तव्यमा लेखक रेशमबहादुर पाण्डेले आफ्नो लेखन यात्राबारे प्रकाश पार्दै आफू नरेन्द्रराज पौडेल तथा प्रशासनमा रहेर साहित्यमा कलम चलाउने साहित्यकारको प्रेरणाबाट साहित्य लेख्न थालेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा समालोचक ठाकुर शर्माले प्रमुख अतिथि पौडेल तथा लेखकको परिचयसहित कृतिबारे सङ्क्षिप्त टिप्पणीसहित स्वागत मन्तव्य राखेका थिए । लोकार्पण गरिएका दुई कृतिमध्ये उपन्यास ‘बाह्र–सत्तरी’बारे समीक्षक राम लोहनीले सङ्क्षिप्त समीक्षात्मक टिप्पणी पेस गरेका थिए भने समालोचक युवराज मैनालीले ‘कान्छो सिडियो’ कृतिमाथि सङ्क्षिप्त समीक्षात्मक टिप्पणी पेस गरेका थिए । लोकार्पणकै दिन लेखकको ७१औँ जन्मदिन परेको हुँदा लेखककी सुपुत्री प्रज्ञा थापाले आफ्ना पिताबारे बोल्दै प्रकाशित कृतिका लागि बधाई र जन्मदिनका अवसरमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना गरी भावपूर्ण अभिव्यक्ति प्रकट गरेकी थिइन् । कार्यक्रममा डा. केदारनरसिंह केसी, डा. रामप्रसाद दाहाल तथा समालोचक गोपी मैनालीले शुभकामना मन्तव्य राखेका थिए । रामशरण प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा अन्य साहित्यकार डा. गोविन्दमानसिंह कार्की, पवन आलोक, श्रीओेम श्रेष्ठ ‘रोदन’, दिव्य गिरी, लव गाउँले, डा. दामोदर पुडासैनी ‘किशोर’, सुभाषचन्द्र पौडेल ‘भीमफेदिया’ विनोद नेपाल, रामबहादुर पहाडी, निर्मलरमण पराजुली, प्रभा बराल, भाग्यशाली अधिकारी, विष्णुप्रसाद पराजुली, केशवराज वन्त, वासुदेव गुरागाईं ‘पिँडालु पण्डित’, काशीराज आचार्य, सुवसेन, अरुण नदी खत्री, देविका तिमिल्सिना, वसन्त रिजाल, इन्द्रकुमार श्रेष्ठ ‘सरित’लगायत लेखक परिवारका सदस्य, पूर्वप्रशासक तथा अन्य साहित्यप्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।