विदुर मेयर कप फुटबल प्रतियोगिता म्यागङले जित्यो

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १५:३८

बट्टार, विदुर नगरपालिका आयोजक र नुवाकोट जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिता–२०८०’ माघ १३ देखि सुरु भएर २१ गते आइतबार सम्पन्न भएको छ ।

प्रतियोगिता विदुर नगरपालिका–४ बट्टारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न भएको हो । जिल्लाका १० वटा पालिकाका टिमले भाग लिएको प्रतियोगिताको उद्घाटन सङ्घीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थियो भने समापन बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा भएको थियो । खेल तालिकाअनुसार ककनी, लिखु, सूर्यगढी र तारकेश्वर गाउँपालिका समूह ‘ए’मा, समूह ‘बी’मा बेलकोटगढी नगरपालिका, किस्पाङ र शिवपुरी गाउँपालिका र आयोजक टोली विदुर नगरपालिका, तादी र म्यागङ गाउँपालिका समूह ‘सी’मा रहेका थिए । प्रतियोगितामा प्रथम हुने म्यागङ गाउँपालिकाको टिमलाई चार लाख चार हजार चार सय ४४ रुपैयाँ र द्वितीय हुने विदुर नगरपालिकाको टिमलाई दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लामाले प्रदान गरेका थिए । प्रतियोगिताको आयोजक विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिको रूपमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, नुवाकोटमा रहेका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख एवम् वडाध्यक्ष, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, विदुर नगरपालिकाका वडाध्यक्ष एवम् कार्यपालिका र नगरसभा सदस्य, जिल्लाका सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिलगायत खेलप्रेमी, खेलाडी तथा सयौँ दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रमको खेल तालिकाअनुसार माघ २० गते शनिबार सम्पन्न हुनुपर्ने भए पनि आयोजक टिम र सहभागी पालिकाका खेलाडी र रेफ्रीबीचको विवादले प्रतियोगिताको समापन एक दिन ढिला भएको थियो ।