नुवाकोटका चार सामुदायिक विद्यालयलाई बस किन्न अनुदान

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १५:४६
  • सज्जन उत्सुक सापकोटा

विदुर, सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन बागमती प्रदेश सरकारले चालू आ.व.०८०/८१ मा नुवाकोटका चारसहित प्रदेशभित्रका २७ सामुदायिक विद्यालयलाई बस खरिद गर्न अनुदान दिएको छ । प्रदेश सरकारले बस खरिद गर्न अनुदान दिने निर्णय गत साउनमा गरेको थियो । उक्त निर्णयअनुसारको पत्र प्राप्त गरेका विद्यालयले बस खरिदका लागि प्रक्रिया सुरु गरिसकेका छन् ।

प्रदेशले विगत वर्षदेखि नै विद्यालयलाई बस खरिद गर्न अनुदान दिँदै आएको छ । सामुदायिक विद्यालयमा माथिल्लो कक्षा चढ्दै जाँदा विद्यार्थी टिकाउदर घट्दै जाने प्रवृत्ति देखिएपछि प्रदेश सरकारले विद्यालयलाई बस खरिदमा अनुदान दिन थालेको हो । विद्यालयको आफ्नै बस भएपछि टाढाबाट विद्यालय आउने सामुदायिक विद्यालयका विद्यार्थीलाई समयको बचत र आउजाउ गर्न सहज भएको छ । प्रदेश सरकारले बस खरिदमा प्रतिविद्यालय २५ लाख रुपैयाँ अनुदान दिँदै आएको छ । अनुदानमा आयात गरिने बसमा भन्सारलगायतका कर विद्यालयले छुट पाउने व्यवस्था रहेको छ । आ.व. ०७६/७७ देखि प्रदेश सरकारले विद्यालयलाई बस खरिद गर्न अनुदान सुरु गरेको थियो । चालू आर्थिक वर्षसम्ममा ९२ वटा बस वितरण गरिसक्ने प्रदेश सरकारको योजना छ । सार्वजनिक विद्यालयमा विद्यार्थी भर्ना र विद्यालयमा टिक्ने दरमा सुधार ल्याउन प्रदेश सरकारले आ.व. ०७९/८० मा यो कार्यक्रम ल्याएको हो । चालू आ.व.मा पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडामार्फत गत आ.व.मा १३ जिल्लाका २७ वटा सामुदायिक विद्यालय बस खरिदमा अनुदानका लागि छनोट भएका थिए ।

पहिलोपटक बस खरिदमा अनुदान पाएका विद्यालयले दोस्रोपटक अनुदान सुविधा पाउन विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी हुनुपर्ने व्यवस्था रहेको छ । ‘सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयलाई दुईवटासम्म बस आयातमा भन्सार छुट दिने व्यवस्था गरेको छ । सामुदायिक विद्यालयले एउटा बस आयात गर्दा भन्सार कर पूर्ण रूपमा छुट पाए पनि मूल्य अभिवृद्धि करलगायतका अन्य राजस्व तिर्नुपर्छ ।’ निर्देशनालयसँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत भुक्तानी दिने र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिने व्यवस्था रहेको छ । गत आर्थिक वर्षमा मकवानपुरको पाँच विद्यालयले अनुदानमा विद्यालय बस खरिद गरेका थिए । यस्तै, चितवन र धादिङका चार–चार, नुवाकोट, काभ्रे, दोलखा र सिन्धुलीका दुई–दुई तथा काठमाडौं, भक्तपुर, रसुवा, ललितपुर, सिन्धुपाल्चोक र रामेछापका एक–एक सार्वजनिक विद्यालयलाई अनुदानमा बस खरिद गरेको थियो । गत आर्थिक वर्षमा जस्तै आ.व. ०८०/८१ का लागि २७ वटा सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदानमा दिन ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा मकवानपुरका ६ वटा विद्यालय बस खरिदमा अनुदान पाउने सूचीमा परेका छन् । साथै, काभ्रेका पाँच, नुवाकोटमा चार, काठमाडौं, चितवन र धादिङका दुई–दुई तथा भक्तपुर, ललितपुर, रामेछाप, रसुवा, दोलखा र सिन्धुपाल्चोकका एक–एक सामुदायिक विद्यालयले बस खरिदमा अनुदान पाउने भएका छन् ।

नुवाकोटका चार विद्यालयले चालू आवमा बस खरिद गर्न अनुदान पाएका छन् । अनुदान पाउनेमा पाउने ज्ञानज्योति मा.वि. किस्पाङ गाउँपालिका–२ फिकुरी, सहिद जगतप्रकाशजंग शाह संस्कृत मावि विदुर नगरपालिका–५ देवीघाट, चन्द्रज्योति मावि विदुर नगरपालिका– ५ पिपलटार र नवजीवन मावि ककनी–६ केउरेनी रहेका छन् । नुवाकोटका यी चार विद्यालयले बस खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । प्रदेशबाट बस खरिदमा अनुदान दिन सुरु गरेपछि आ.व.०७८/७९ मा चण्डेश्वरी मावि विदुर नगरपालिका–७ तुप्चेले र महादेव मावि बेलकोटगढी नगरपालिका–७ रातमाटेले बस अनुदान प्राप्त गरी बस खरिद गरिसकेका छन् । गत आव ०७९/८० मा वीरेन्द्र मावि बेलकोटगढी नगरपालिका कुमरी र महेन्द्र मावि, विदुर नगरपालिका–१२ चारघरेले बस खरिद गर्न अनुदान प्राप्त गरेर बस खरिद गरिसकेका छन् । विद्यालय बसको व्यवस्थासँगै दैनिक घण्टौँ लगाएर सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाको समय बचत भएको छ । ‘विद्यालय बसको व्यवस्थासँगै विद्यालय आउजाउमा लाग्ने विद्यार्थीको समय बचत हुने र विद्यार्थीले अध्ययनमा थप समय दिन सक्ने भएका छन्,’ चण्डेश्वरी माविका प्रधानाध्यापक हरिप्रसाद रिजालले भने । बालबालिकाको विद्यालयमा आउने क्रम बढ्ने र विद्यार्थीको शैक्षिक सुधारको विद्यालयमा टिकाइराख्न केही सहज हुने विश्वास उनले व्यक्त गरे ।