+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चारमाध्यमप्रति नागरिकको विश्वास घट्दै

सञ्चारमाध्यमप्रति नागरिकको विश्वास घट्दै
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

पनौती । सम्पादक समाज नेपालको आयोजना तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयक एकदिवसीय अन्तरक्रिया गत शनिबार काभ्रेको पनौतीमा सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

कार्यक्रममा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले सञ्चारमाध्यमप्रति नागरिकको विश्वास घट्दै गएको भन्दै पत्रकारिता क्षेत्र थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) र च्याटजिपिटीजस्ता प्रविधिले पत्रकारको सिर्जनशीलता र क्षमतामा नयाँ चुनौती थपेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले मिडियाको सङ्ख्या बढे पनि विषयवस्तुमा विविधता र गुणस्तर कायम हुन नसकेको बताउनुभयो । उहाँले पत्रकारले आचारसंहिता पालना गर्दै लोकतन्त्रमा मिडियाको भूमिकाबारे आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । प्रशिक्षक डा. जगत नेपालले सूचना र समाचारबिचको भिन्नता बुझ्दै स्रोत पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । अध्ययनकर्ता तोया गौतमले काभ्रेको छापा पत्रकारिताको अवस्थाबारे जानकारी दिँदै स्थानीय विषयवस्तुलाई प्राथमिकता दिए नागरिकको विश्वास बढ्ने बताउनुभयो । रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख डा.जगत नेपालले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय पत्रकारिता क्षेत्र न्युजमा भन्दा भ्युजमा दौडिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । सञ्चारगृह पनि पत्रकारलाई पारिश्रमिक दिएर खोजमूलक समाचारतिर जान छोडी न्यूज एजेन्सीकै समाचार प्रकाशन गर्न थाले भन्दै डा.नेपालले सम्पादकीय दैलो पार नगरेका खबरलाई समाचार भन्न नसकिने, त्यो केबल सूचना मात्रै हुन सक्ने जिकिर गर्नुभयो । कार्यक्रममा पत्रकारिता क्षेत्रमा प्रविधि, सामाजिक सञ्जालको प्रभाव, मोफसल पत्रकारिताका चुनौती र जिम्मेवार पत्रकारिताका विषयमा विभिन्न वक्ताले धारणा राख्नुभएको थियो । समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष माधव दुलालले सञ्चालन गर्नुभएको थियो ।

नागरिकको दृष्टिमा पत्रकारिता क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठिरहेको वेला पत्रकारलाई जिम्मेवार र विश्वासको वातावरणमा कसरी ल्याउने भन्नेबारे समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जिल्ला-जिल्लामा क्रियाशील पत्रकारको भेला गरी ‘जिम्मेवार पत्रकारिता र नागरिक अपेक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम नुवाकोट र काठमाडौँमा गरिसकेको महासचिव श्याम डोटेलले जानकारी दिनुभयो । नागरिकको अपेक्षाअनुरूप पत्रकारलाई जिम्मेवार बनाउन सम्पादक समाजले विगत एक वर्षदेखि गृहकार्य गरिरहेको र यस्ता कार्यक्रम गर्दै जाने जानकारीसमेत गराउनुभयो । बागमती प्रदेशका सबै जिल्लामा यसप्रकारको अन्तरक्रिया क्रमशः गर्दै जाने र पत्रकारलाई जिम्मेवारीबोध गराउँदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने लक्ष्यमा समाज क्रियाशील रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह