विदुर । नुवाकोट तथा नेपालमा रहेका सम्पदाको जानकारी दिने उद्देश्यले विदुर-२, भैरवी मन्दिर प्राङ्गण नुवाकोटमा शनिबारदेखि सम्पदासम्बन्धी फोटो प्रदर्शनी जारी छ । पुरातत्व विभाग आयोजक र स्मारक तथा दरबार हेरचाह संरक्षण कार्यालय नुवाकोट सहआयोजक रहेको फोटो प्रदर्शनी असार ६ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरी सुरु भएको प्रदर्शनीमा नुवाकोट तथा देशका महत्त्वपूर्ण सम्पदाको फोटो राखिएको छ । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जितसहित जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधि, स्थानीयवासी, शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । प्रदर्शनीमा राखिएका अधिकांश फोटो दुर्लभ र ऐतिहासिक महत्त्वका रहेको स्थानीय ईश्वरलाल श्रेष्ठले बताउनुभयो । प्रदर्शनीमा राखिएका अधिकांश फोटो ३० देखि ५० वर्ष पुराना रहेको र ती फोटो विभागका फोटोग्राफर सुनील डङ्गोललगायतले खिचेको जानकारी उद्घाटनको कार्यक्रममा गराइएको थियो ।
त्यसैगरी, विभागको आयोजनामा विदुर नगरपालिका, सूर्यगढी र लिखु गाउँपालिकाका सामाजिक विषयका शिक्षकलाई दुईदिने सम्पदासम्बन्धी अभिमुखीकरण शनिबार सम्पन्न भएको छ । अभिमुखीकरणमा विदुर नगरपालिकाका २२ मावि, सूर्यगढी र लिखुका एक-एक माविका सामाजिक विषयका शिक्षकसहित जनप्रतिनिधि, पत्रकार, स्थानीयवासीको सहभागिता थियो । विदुर-२, भैरवी माविमा शुक्रबार र शनिबार भएको अभिलेखीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातात्विक सम्पदा, विभागले गर्ने कार्य र विश्व सम्पदा सूचीको विषयमा जानकारी दिनुभएको थियो । त्यसैगरी, सो कार्यक्रममा प्रमुख पुरातात्विक विभागका सूचना अधिकृत सन्दीप खनालले पुरातात्विक सम्पदासम्बन्धी ऐन, नियम, प्रमुख पुरातात्विक अधिकृत काजीमान प्याकुरेलले शिलालेख र स्मारक तथा दरबार हेरचाह संरक्षण कार्यालय नुवाकोटका प्रमुख सुनील पाण्डेले फोटो अभिलेखीकरणसहित र सम्पदाको विषयमा जानकारी गराउनुभएको थियो । विभागकै आयोजनामा शनिबार माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई सम्पदासम्बन्धी प्रशिक्षण दिइएको थियो । त्रिभुवन त्रिशूली मावि विदुर-१ र भैरवी मावि विदुर-२ का ७० जना भन्दा बढी विद्यार्थीलाई विभागका कर्मचारीले प्रशिक्षण दिनुभएको थियो ।






प्रतिक्रिया