चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ । सभापतिमा लामिछाने दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । निर्वाचन आयोगका प्रमुख भुवन केसीले दिनुभएको जानकारीअनुसार सभापतिमा लामिछानेको मात्रै उम्मेदवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

लामिछानेले मंगलबार साँझ पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो । लामिछानेको प्रस्तावकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ भने अन्य ५१ जना समर्थक हुनुहुन्छ । पार्टीको संशोधित विधानअनुसार सभापतिको उम्मेदवार हुन एकजना प्रस्तावक र ५१ जना समर्थक रहने व्यवस्था छ । प्रधानमन्त्री शाहले भने कुनै पनि पदमा उम्मेदवारी दिनुभएको छैन । सहभागी महाधिवेशन प्रतिनिधिका अनुसार सम्भवतः उहाँलाई पार्टीले वरिष्ठ नेताकै उपाधि दिनेछ । रास्वपाको नयाँ विधानअनुसार पदाधिकारीमा सभापति मात्रै पहिलो चरणमा निर्वाचित हुने व्यवस्था छ । सभापति र वरिष्ठ नेताका लागि केन्द्रीय सदस्य निर्वाचित हुन नपर्ने व्यवस्था रास्वपाको विधानमा छ । एक सय ५८ सदस्य केन्द्रीय समिति र हुने गरी विधान संशोधन गरेको रास्वपाले ९९ सदस्य भने महाधिवेशनबाट चयन गर्नेछ । सभापतिले ५१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने विधानमा व्यवस्था छ । सात प्रदेशका सभापति रास्वपा केन्द्रीय समितिको पदेन सदस्य रहने व्यवस्था छ । विधानअनुसार वरिष्ठ नेता एकजना, उपसभापति तीनजना, महामन्त्री दुईजना, सहमहामन्त्री ६ जना, प्रवक्ता एकजना, कोषाध्यक्ष एकजना र सहकोषाध्यक्ष एकजना पदाधिकारी रहने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ता सकेर हिजो बुधबारदेखि केन्द्रीय सदस्यको निर्वाचन प्रक्रिया सुरु भएको छ ।






प्रतिक्रिया