क्षयरोग निवारण संस्थाको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार ११:३३

विदुर, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोटको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ‘क्षयरोगको निःशुल्क उपचार गरौँ, विश्वबाट क्षयरोग भगाऔँ’ भन्ने मूल नाराका साथ नुवाकोट दरबारपरिसरमा शनिबार विदुर नगरपालिका–२ का सदस्य आनन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन प्रमुख अतिथिबाट ब्यानर वाचन गरेर डा. रबर्ट कक नेपाल क्षयरोग निवारण संस्थाका संस्थापक र नुवाकोटका संस्थापक श्याम सुन्दर श्रेष्ठको फोटोमा माल्यार्पण गरिएको थियो । साधारणसभामा प्रगति प्रतिवेदन नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोट अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष निरनमान डङ्गोलले गरेका थिए भने आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष शर्मिला श्रेष्ठले एक लाख ४० हजार गत वर्षको आर्थिक कारोबार भएको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका आजीवन सदस्य भगवान रानामगर, दीपक रानामगर र श्यामनारायण डङ्गोलले शुभकामना मन्तव्य राख्नुका साथै क्षयरोग निवारणजस्तो सामाजिक कार्यमा युवा, पुस्तालाई अब अगाडि बढाउनुपर्ने, सबै पालिका र स्थानीयस्तरसम्म संस्थाले पुगेर कार्य गर्नुपर्ने कुरालाई उठान गरेका थिए ।