विदुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा

हजार विद्यार्थी सहभागी, तीन सयलाई पदक

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार ११:५८

बट्टार, नुवाकोटको विदुर नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० मा एक हजार विद्यार्थी सहभागी हुँदा तीन सयले पदक प्राप्त गरेका छन् । प्रतियोगिता गत माघ २७ देखि २९ गतेसम्म सञ्चालन भएर फागुन १ गते मंगलबार सम्पन्न भएको हो । प्रतियोगितामा २७ वटा विद्यालयले भाग लिएकामा २१ वटा विद्यालयले पदक जितेका थिए । सात विधागत खेल प्रतियोगितामा प्रतिस्पर्धा गरेर तीन सय विद्यार्थीले पदक हात पारेका हुन् ।

प्रतियोगितामा लङजम्प छात्रा, ज्याभलिङ थ्रो छात्र, कराँते, तेक्वान्दो, कबड्डी छात्र, कबड्डी छात्रा, भलिबल छात्र खेल खेलाइएको थियो । उक्त प्रतियोगितामा सबैभन्दा बढी पदक जितेर त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय (त्रित्रि मावि) प्रथम भएको छ । त्रित्रि माविले १० स्वर्ण, आठ रजत, सात कांस्य पदक जितेको थियो । त्यसैगरी, अर्किड एकेडेमी बट्टारले नौ स्वर्ण, दुई रजत, एक कांस्य पदक जितेर दोस्रो भएको छ ।प्रतियोगितामा च्वाडी पब्लिक मावि माझीटारले पाँच स्वर्ण, ६ रजत, पाँच कांस्य पदक जितेर तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा पृथ्वी माविले तीन स्वर्ण, तीन रजत, सात कांस्य पदक, युनाइटेड माविले एक स्वर्ण, एक कांस्य पदक, भैरवी माविले चार स्वर्ण, पाँच रजत, तीन कांस्य पदक, भीमसेन माविले तीन स्वर्ण, दुई रजत, दुई कांस्य पदक, जेडी बोर्डिङ स्कुलले दुई रजत पदक, अजिङ्गरे माविले एक रजत, एक कांस्य पदक, सुन्दरी केउरेनी माविले एक रजत, एक कांस्य पदक, चण्डेश्वरी माविले चार स्वर्ण, ६ रजत, चार कांस्य पदक, भैरुम माविले पाँच स्वर्ण, एक रजत, सात कांस्य पदक, महेन्द्र माविले एक रजत, तीन कांस्य पदक, सहिद प्रकाशजंग शाह संस्कृति माविले तीन स्वर्ण, पाँच रजत, चार कांस्य पदक, स्पार्कल इन्टरनेसनल बोर्डिङ स्कुलले तीन रजत, बच्छला माविले एक स्वर्ण पदक, पञ्चकन्या बोर्डिङ स्कुलले एक स्वर्ण, तीन रजत, दुई कांस्य पदक, रणभुवनेश्वरी माविले एक कांस्य पदक, गणेशभ्यु बोर्डिङ स्कुलले तीन स्वर्ण, तीन कांस्य पदक, चन्द्रज्योति माविले दुई रजत पदक प्राप्त गरेका छन् । प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले र समापन विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले गरेका थिए । प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम विदुर नगर खेलकुद विकास समितिको संयोजक अच्युतराज महन्त गिरीको सभापतित्वमा भएको कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख देवीप्रसाद अधिकारीको उपस्थिति रहेको नगरपालिकाका खेलकुद सम्पर्क व्यक्ति सुवास पाण्डेले बताए ।