करोडौँको एकीकृत बस्ती विस्थापितलाई अपायक

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार १२:०१
  • सरस्वती न्यौपाने

धुन्चे, ०७२ को भूकम्पबाट विथापित रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङबुका २७ घरपरिवारका लागि सुरक्षित स्थानमा बिजुली बत्ती, खानेपानी र सडकसहित निर्माण भएको एकीकृत बस्ती हस्तान्तरण भए पनि विस्थापित परिवार बस्न नमानेपछि सुनसान भएको छ । सरकारको करोडौँ रुपैयाँको लागतमा निर्माण भएको भौतिक संरचना बस्ती विस्थापित परिवारको इच्छा र आवश्यकतासँग मेल खान नसक्दा अहिले बेवारिस बनेको छ ।

राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनले सुरक्षित स्थान छनोट गरी आवास निर्माण गरेको उक्त क्षेत्रमा विस्थापित बस्न नमानेपछि बेवारिस बनेको हो । अहिले निर्माण भएको एकीकृत बस्तीबाट साबिकको थातथलो पुग्न करिब तीन घण्टा पैदल हिँडेर खेतीपाती गर्न जान टाढा भएकाले बस्न नमानेको विस्थापित परिवार बताउँछन् । एकीकृत बस्ती राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन रसुवाले एक करोड १२ लाख रुपैयाँमा दुई कोठाका २७ वटा भवन निर्माण भएको हो । एकीकृत बस्तीमा सडकको पहुँचसहित खानेपानी, विद्युत् तथा धेराबारसहित निर्माण सम्पन्न गरी सबै घर २७ परिवारले बुझिसकेका छन् । ०७२ को भूकम्पले विस्थापित बनाएको वडाको सांगेल गाउँका २७ घरपरिवारलाई निर्माण गरेको लाङ्बु एकीकृत बस्तीमा कमाउने जग्गाबाट टाढा भएको बन्दै विस्थापित परिवार बस्न नमानेका हुन् ।