एमालेको सचिवालय बैठकमा विदुरका एमाले जनप्रतिनिधिको कार्यशैलीको समीक्षा

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार १२:०६

विदुर, नुवाकोटमा ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बढारिएपछि पार्टीले सङ्गठन परिचालन थालेको छ । गत निर्वाचनमा एमालेले जिल्लाको १२ स्थानीय तहका प्रमुख/उपप्रमुखमध्ये किस्पाङ गाउँपालिकाको प्रमुख पदमा मात्र चित्त बुझाउनुपरेको थियो ।

जिल्लाका ८८ वडामध्ये निर्वाचनमा २२ वडा मात्र जितेको एमालेले अहिले निर्वाचन परिणामको सूक्ष्म अध्ययन थालेको छ । ०७९ मा सम्पन्न स्थानीय तहसँगै प्रदेश र सङ्घको निर्वाचनमा समेत एक सिट जित्न नसकेपछि पार्टीभित्र जिल्ला नेतृत्वप्रति कार्यकर्ताको असन्तुष्टि बढिरहेको छ । गत निर्वाचनमा पार्टी र नेताको इच्छाविपरीत किस्पाङ गाउँपालिकामा कमिटीले नेकपा माओवादी केन्द्रको स्थानीय कमिटीसँग गठबन्धन गरेर नेपाली काङ्ग्रेसको विरासत तोडेको थियो । १२ पालिकामध्ये ११ वटाको कार्यपालिका बोर्डमा एमाले अल्पमतमा रहेको छ । ०७४ मा मेयर, उपमेयरसहित बहुमत वडासहित एकलौटी कार्यपालिका बोर्ड रहेको विदुर नगरपालिकामा यसपटक पनि कार्यपालिका बोर्डमा एमालेको बहुमत छ । गत माघ २४ गते सम्पन्न एमाले नुवाकोट जिल्ला कमिटी सचिवालयको बैठकमा सचिवालय सदस्यले विदुर नगरपालिकामा एमालेको तर्फबाट गएका जनप्रतिनिधिको कार्यशैलीको खरो रूपमा विरोध जनाएका छन् । कार्यपालिकामा बहुमत हुँदाहुँदै पनि सशक्त ढङ्गले प्रस्तुत हुन नसकेको विषय जोडदार रूपमा बैठकमा आवाज उठेको थियो । पार्टी अध्यक्ष बद्री मैनालीको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्य केशव पाण्डे, बिन्दा ढुंगाना, उषाकिरण तिमिल्सिनाको उपस्थिति रहेको थियो । बैठकमा विदुर नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि मेयरसँग मिलेर आफ्नो वडाका दुई–चार लाख बजेट ल्याउने ध्याउन्नमा अलमलिँदा पार्टीको प्रतिनिधित्व हुन नसकेको आरोप विदुर नगर कमिटीका इन्चार्ज सञ्जीवबहादुर श्रेष्ठले लगाएका थिए ।

अहिले पनि अल्पमतमा रहेको विदुर नगरपालिकाका मेयर र उपमेयरले एमालेका जनप्रतिनिधिले अघिल्लो कार्यकाल (०७४/७९) मा गरेका राम्रै कार्यलाई ओझेलमा पार्ने गरी काम गर्दा पनि तैँ चुप मै चुप बसिरहेको आरोप पूर्वमेयर सञ्जु पण्डितले र उपमेयर गीता दाहालले लगाएका छन् । नगरपालिकाको करोडौँ लगानीमा निर्माण सम्पन्न भएका बट्टार बसपार्कको कोसेली घर, विदुर सिमचौरमा निर्माणाधीन वधशालालगायतका संरचना बेवारिस अवस्थामा रहिरहेको छ । विदुर नगरपालिकाको वडा नं. १, २, ४, ६ र ११ को वडाध्यक्षसहित बहुमत वडासदस्य एमालेले जितेको छ । बैठकमा विदुरका जनप्रतिनिधिको कार्यशैलीको विषय चर्को रूपमा उठेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यसँग छलफल गर्न यसै हप्ता पार्टीले जनप्रतिनिधिलाई बोलाउने तयारी गरिरहेको छ । उक्त बैठकले ०८१ वैशाखभित्र जनसङ्गठनसहित जिल्ला, पालिका र वडाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा सङ्कल्प यात्राको समीक्षा, समृद्ध नुवाकोट बनाउने तयारीका लागि आवश्यक विज्ञ कमिटी निर्माण गर्ने, पार्टी सदस्यता विस्तार गर्ने, वार्षिक योजनाको समीक्षा गरिएको उपसचिव नीलकण्ठ आचार्यले जानकारी दिए ।