Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरको हिउँदे गाउँसभाबाट एघार प्रस्ताव पारित

दुप्चेश्वरको हिउँदे गाउँसभाबाट एघार प्रस्ताव पारित
त्रिशूली प्रवाह
२ साल अगाडी

समुन्द्रटार, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले गत माघ २५ गते बिहीबार १४औँ गाउँसभाको अधिवेशन सम्पन्न गरेको छ । गाउँसभामा विभिन्न समितिले पेस गरेको विधेयक तथा प्रस्ताव सर्वसम्मत पारित तथा अनुमोदन भएको छ ।

गाउँपालिकाका अध्यक्ष शंकर थापाको सभापतित्वमा सम्पन्न सभामा गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिकी संयोजक माकुरी तामाङले पेस गरेको गाउँपालिका विनियोजन ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, २०८० र न्यायिक समितिको आ.व. ०८०/८१ को अर्धवार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । त्यसैगरी, लेखा समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष ध्रुवकर केसीले पेस गरेको आर्थिक वर्ष ०७९/८० को महालेखा परीक्षण प्रतिवेदनमाथि छलफल र बेरुजु नियमनसम्बन्धी प्रस्ताव, पूर्वाधार विकास समितिका संयोजक ज्ञानबहादुर तामाङले पेस गरेको गाउँपालिकास्तरीय अनुगमन समिति तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष ०८०/८१ को अर्धवार्षिक प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ६ का अध्यक्ष किशोर आचार्यले पेस गरेको आर्थिक वर्ष ०८०/८१ को आर्थिक विकास समितिको अर्धवार्षिक प्रतिवेदन र गाउँसभा सदस्य राजु नेपालीले पेस गरेको दलित समुदायको अधिकार सुनिश्चित गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको छ । दलित समुदायको अधिकार सुनिश्चित गर्नेसम्बन्धी सङ्कल्प प्रस्तावमा पाँच विषय समेटिएको छ । समेटिएका विषयमा पहिलो नम्बरमा गाउँपालिकामा दलित जनसङ्ख्यालाई आधार मानी सम्पूर्ण संरचनामा समावेशी सिद्धान्तअनुसार सहभागिता सुनिश्चित गर्ने रहेको छ । त्यस्तै, दोस्रो नम्बरमा दलित समुदायका आर्थिक र सामाजिक विकासका लागि दलित उत्थान नीति बनाई कार्यक्रम कार्यान्वयन गर्ने, तेस्रोमा दलित विद्यार्थीको तहगत शिक्षा प्राप्तिका लागि शैक्षिक संस्थामा छात्रवृत्तिलगायत अनिवार्य भर्ना अभियानलाई कार्यान्वयन गर्ने, चौथोमा दलित समुदायको समग्र विकासका लागि गाउँपालिकास्तरीय एक दलित विकास समन्वय समितिको संरचना बनाई क्रियाशील गराउने र पाँचौँ नम्बरमा दलित र गैरदलितबीच विद्यमान विभेदलाई हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बजेटको व्यवस्था गर्ने रहेको छ ।

त्यसैगरी, गाउँसभामा सामाजिक विकास समितिका संयोजक वीरबल तामाङले पेस गरेको सार्वजनिक महत्वको दुप्चेश्वर गाउँपालिकाअन्तर्गत रहेको दुप्चेश्वर महाँदेव मन्दिर आसपासमा रहेका सार्वजनिक जग्गालगायत धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व राख्ने सार्वजनिकस्थल अव्यवस्थित बसोवासको नाममा कुनै व्यक्ति–संस्थाले अतिक्रमण गर्ने वा दर्ता गराउने प्रयोजनका लागि वडा कार्यालय तथा गाउँपालिकाबाट कुनै पनि सिफारिस नगर्ने, नगराउने प्रकृतिको सार्वजनिक महत्वको प्रस्ताव पारित भएको छ । त्यसैगरी, सभामा अघिल्लो अधिवेशन र यस अधिवेशनको बीचमा भएका कार्यपालिकाका निर्णय अनुमोदन तथा सर्वसम्मत पारित भएको छ । दुप्चेश्वर गाउँपालिकाको प्रस्तावित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन र न्यायिक समितिको रिक्त सदस्य पदमा गाउँसभा सदस्य वीरबल तामाङलाई चयन गर्ने प्रस्ताव गाउँसभाले सर्वसम्मत पारित गरेको छ । दुप्चेश्वर गाउँपालिकाको आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तह संस्थागत स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा प्राप्त अङ्कलाई अनुमोदन गर्ने प्रस्तावसमेत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत दीपेश रिजालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह