रसुवामा सवारी दुर्घटना कम

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार ११:५१

धुन्चे, वागमती प्रदेशका १३ जिल्लामध्ये सवारी दुर्घटना कम हुनेमा रसुवा जिल्ला रहेको छ । रसुवा जिल्लामा ‘‘दुर्घटना न्यूनीकरणका लागि ट्रफिक नियम पालना गरौं सवारी दुर्घटना हुनबाट आफु पनि बचौं र अरूलाई पनि बचाऔं’’ भन्ने नाराकासाथ रसुवामा गत हप्ता ट्राफिक सप्ताह २०८० सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक कार्यालय रसुवाका इञ्चार्ज नारायण खड्काको अनुसार सप्ताहब्यापी विविध कार्यक्रम गरी मनाईयो । जिल्लाभित्र सवारी चलाउनुपूर्व सवारीको यान्त्रिक अवस्था चेकजाँच, लेन अनुशासनको पालना, सवारी साधनको सिट क्षमता भन्दा बढि यात्रु नराखौं, हेलमेटको फिता तथा सिट बेल्ट राम्रोसँग बाधौं, सवारी चलाउँदा मोबाईल फोनको प्रयोग नगरौं, हतारमा मानसिक तनाव, थकान, चिन्ता र अत्यन्तै खुशीमा सवारी नचलाऊँ, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी सवारी नचलाऊँ भन्ने नारासहित ब्यानर र प्लेकार्डसहित बजार परिक्रमा गरी सचेतनामुलक सन्देश बाँड्दै ट्राफिक सप्ताह फागुन २ गते समापन गरिएको हो । कार्यक्रमको सुरूवातमा प्रमुख जिल्ला आधिकारी बेदनिधी खनाल, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुबास बुढाथोकी, विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधी, संघ/संस्थाका प्रतिनिधी प्रहरी, नागरिक समाज, सञ्चारकर्मीलगायत अन्य सरोकारवालाको उपस्थितीमा धुन्चेको शङ्खपार्कमा भेला भई प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले समापन गर्नुभएको थियो । जिल्लामा चालु आर्थिक वर्षमा १४ वटा सवारी साधन दुर्घटना भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन् । ३ हजार १ सय वटा सवारी साधन कारबाहीमा परेका छन् । जसबाट ३१ लाख ९ हजार ५ सय राजश्व जम्मा भएको जिल्ला ट्राफिक कार्यालय रसुवा जनाएको छ ।