सार्वजनिक सुनुवाई सम्पन्न

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार ११:५९
  • श्रीराम अधिकारी

बेत्रावती, आर्थक वर्ष २०८०/०८१ को साउन १ देखि पौष मसान्तसम्मको उत्तरगया गाउँपालिकाले गरेको कार्यको सार्वजनिक सुनुवाई गत सोमबार सम्पन्न भएको छ ।

सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि रसुवाको उत्तरगया गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को साउन १ देखि पौष मसान्तसम्ममा विषयगत शाखा र पालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावसहित हाकाहाकी प्रश्नोत्तर गरिएको थियो । गाउँपालिकाको कार्यालयले प्रवाह गरिरहेको सेवाको सम्बन्धमा सहभागीले उठाएका सवालको गाउँपालिकाका अध्यक्ष माधव अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारी, वडाध्यक्ष र विषयगत शाखाका प्रमुखले जवाफ दिएका थिए । कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य बिमा, कृषि, बिउ-बिजन, पशु बिमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेटलगायतका विषयमा गुनासो राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नम्बर–१ का वडाध्यक्ष मारसिंह तामाङ, वडा नम्बर–२ का वडाध्यक्ष टुकुप्रसाद सुबेदी, वडा नम्बर–३ का वडाध्यक्ष लालबहादुर तामाङ, वडा नम्बर–४ का वडाध्यक्ष अमरबहादुर बुलुन र वडा नम्बर–५ का वडाध्यक्ष यमनाथ आचार्यले वडाका विभिन्न विषयमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गत वर्षको र चालु वर्षको साउन १ देखि पौष मसान्तसम्ममा भएका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सहभागीबाट उठेका प्रश्नको उत्तर दिंदै प्रशासकिय अधिकृत अधिकारीले कन्टेजेन्सी, संघ र प्रदेशबाट प्राप्त बजेटको सदुपयोगका विषयमा स्पष्ट पार्नुभएको थियो । उहाँले वार्षिक कार्यक्रम योजना तथा अनुगमनको विषयमा कर्मचारीबाट इमान्दारिताकासाथ काम गर्ने कुरामा कुनै सम्झौता नहुने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीमध्ये स्थानीय शशी लामीछाने अप्सरा आचार्य, गम्वीरमान ल्होलगायतले प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा राजनैतिक दलको तर्फबाट नेकपा एमालेका चमेली सुनार र नेपाली काँग्रेसका ओमनाथ आचार्यले सभ्य सम्बृद्ध उत्तरगया बनाउनेमा पालिकालाई सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा महालेखाको प्रतिवेदन, कन्टेजेन्सी रकमको खर्च प्रक्रिया, सवारी साधनको प्रयोग, खानेपानी तथा सडक आयोजनाको प्रभावकारिता, कृषि, महिला सशक्तिकरण कार्यक्रमलगायतका शिर्षकमा प्रश्न राखिएको थियो । वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको प्रस्तुतिपछि सहभागीले गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललगायतलाई गाउँपालिकाको सेवा प्रवाहसँगै विकास निर्माणका प्राथमिकता, खानेपानीको समस्यालगायतको विषयमा उठेका प्रश्नको सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्यालले सुझावलाई ग्रहण गर्दै अघि बढ्ने प्रबिद्धता ब्यक्त गर्नुभएको थियो ।

जनप्रतिनिधी नयाँ हौं भनेर जनताका भावनासँग भाग्न नहुने भन्दै सबैपटक नै जनप्रतिनिधी नयाँ नै आउने भएकाले जनताको भावना बमोजिम काम गर्नुपर्ने बताउनु भयो । उहाँले गाउँपालिका शिक्षाभित्र पूर्वाधार निर्माणको काम तिव्रगतिमा भईरहेको उल्लेख गर्दै कृषि, पशु र स्वास्थ्य क्षेत्रमा देखिने गरी परिर्वतन भएको दाबी गर्नुभयो । स्याउबारीमा रहेको रेडियो लाङटाङ ९० दशमलव ३ मेगाहर्जको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।