मोटरसाईकलको धनी खोज्दै प्रहरी

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार १२:१३

विदुर, लामो समयसम्म जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थन्किएको स्कुटर र मोटरसाइकलको सुरक्षित ब्यवस्थापनमा नुवाकोट प्रहरीलाई चुनौती भईरहेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पचपन्न थान मोटरसाईकलको सुरक्षित ब्यवस्थापन गर्ने प्रक्रिया अगाडी बढाउँदै सम्बन्धित सवारी साधन धनीलाई पन्ध्र दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको छ ।

प्रहरी कार्यालय नुवाकोटले विभिन्न समयमा सुरक्षा चेकजाँच र दुर्घटनामा बरामद भएका मोटरसाईकल र स्कुटरको धनी लामो समयसम्म सम्पर्कमा नआउँदा सम्बन्धित सवारी धनीलाई बुझाउन सकिरहेको छैन । कार्यालयले सम्बन्धित सवारी साधन धनीलाई प्रमाणसहित दाबीको लागि पन्ध्रदिने सूचना जारी गरेको हो । प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) सञ्जयसिंह थापाको अनुसार जिल्लाको विभिन्न स्थानबाट बरामद भएका सवारी साधन लिन सम्बन्धित धनी नआएकाले दाबी गर्न अन्तिम पटकको लागि गत आईतबारबाट पन्ध्रदिने सूचना जारी गरिएको छ । “कार्यालय परिसरमा राखिएका सवारी साधन लामो समयसम्म थन्क्याउँदा प्रयोगमा ल्याउन कठिन हुने भएकाले सम्बन्धित धनीलाई आफ्नो साधन दाबीको लागि आउन आग्रह गरेका छौं ।” उहाँले भन्नुभयो “तोकिएको अवधिभित्र नआए कानुनअनुसार लिलाम गरेर राजश्वमा दाखिला गर्नेछौं ।” जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटले विभिन्न स्थानबाट बरामद भएका ती सवारी साधन अधिकांश चालु अवस्थामा रहेका छन् । तर, लामो समयसम्म थन्किएकाले प्रयोग ल्याउन कठिन हुन सक्ने र प्रहरीलाई पनि सुरक्षित ब्यवस्थापनमा चुनौती भएसँगै सम्बन्धित धनीको खोजी थालिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । उहाँको अनुसार यसअघि बेवारिसे साधनका सम्बन्धमा यातायात ब्यवस्था विभागमा पत्राचार गरेर जिम्मा लगाउँदै आएपनि हाल मौजुदा रहेका पचपन्न थान मोटरसाईकल र स्कुटरको धनी सम्पर्कमा नआएपछि दाबी विरोधको सूचना जारी गरिएको हो । धनीको पहिँचान नभएका ती सवारी साधन अधिकांश बेवारिसे अवस्थामा बरामद भएका, चेकजाँचको क्रममा छाडेर भागेका, लामो अवधिदेखि सवारीको राजश्व नबुझाएका, दुर्घटना पश्चात् छाडेकालगायतको कैफियत भएको पाईएको छ । बेवारिसे मोटरसाईकल र स्कुटर दाबीका लागि सहज बनाउन इञ्जिन नं., चेसिस नंं, सवारीको किसिम, मोडल नं. सहितको विवरण उल्लेख गरेर नुवाकोट प्रहरीले सूचना निकालेको हो ।