नुवाकोट महोत्सव सम्पन्न

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार १२:२०

विदुर, नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा गत माघ २६ देखि फागुन ७ गतेसम्म सञ्चालित नुवाकोट महोत्सव २०८० परिमार्जित र परिष्कृतरूपमा सम्पन्न भएको छ । २०६३ देखि संघको आयोजनामा महोत्सव नुवाकोटमा हुँदै आईरहेको छ । यो महोत्सव संघले गरेको आठौं संस्करण हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन र विदुर नगरपालिकाको मेयर राजनलाल श्रेष्ठले समापन गर्नुभएको महोत्सवमा एक लाख भन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको दाबी संघले गरेको छ । उद्घाटन दिन अवलोकनकर्तालाई प्रवेश निःशुल्क गरिएको उक्त महोत्सवमा ४० हजार टिकट बिक्री भएको संघले जानकारी दिएको छ । बिक्री भएको टिकटमध्ये विद्यार्थीलाई पचास प्रतिशत छुटको ब्यवस्था गरिएको थियो । महोत्सवको प्रवेश टिकट एकसय रूपैयाँ रहेको थियो । २ सय ५० वटा स्टल राखिएको महोत्सवमा ५० वटा स्टल जिल्लाका लघु घरेलु उद्यमीका लागि निःशुल्क उपलब्ध गराएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ११ दिनसम्म विदुरका सञ्चालित महोत्सवमा ५ करोड भन्दा बढीको कारोबार भएको संघका कोषाध्यक्ष मेघनाथ घिमिरेले बताउनु भयो । महोत्सवमा भएका खर्चका बिल संकलन र भुक्तानी भईरहेकोले बास्तविक खर्चको विवरण आउन एक हप्ता लाग्ने समेत उनले बताए । प्रायोजकबाट आउनुपर्ने सम्झौताअनुसारको पैसा जम्मा हुने क्रममा रहेकोले महोत्सवको यथार्थ विवरण आउन केही समय लाग्ने बताईएको छ । यसपटकको महोत्सवमा प्रचार–प्रसार र ब्यवस्थापन राम्रोसँग भएकोले आयोजकलाई अवलोकनकर्ताको भिड थेग्न हम्मे–हम्मे परेको थियो । संघले आयोजना गरेको महोत्सवमध्ये २०६३ मा भएको पहिलो र यो आठौं महोत्सव ब्यवस्थित र सहभागिताको दृष्टिकोणले उत्कृष्ट रहेको प्रतिनिधीसभाका सदस्य एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसी र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला नगर परिषद्का उपसभापति एवं नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका ताराबहादुर कार्कीले बताउनुभएको छ । उहाँहरूले भन्नुभयो, ‘महोत्सव ब्यवस्थित, परिपक्क र परिमार्जित तथा परिष्कृत रह्यो ।’