राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन आज

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार १२:३४

विदुर, नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजना र विदुर नगरपालिकाको मुख्य आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा मंगलबारदेखि १३औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरू भएको छ ।

जिल्लाका १२ पालिकामध्ये १० पालिकाले मात्र भाग लिएको प्रतियोगिताको उद्घाटन प्रतिनिधीसभाका सदस्य एवं पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले गर्नुभएको थियो । प्रतियोगितामा बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले भाग लिएनन् । प्रतियोगिताको ६ विधामध्ये उसु खेलमा सुर्यगढी गाउँपालिकाले मात्र खेलाडी सहभागी गराएकोले खेल नै नखेली पदक प्राप्त गरेको छ । एथलेटिक्स, भलिबल, कवड्डी, कराँते र तेक्वान्दोका खेल विधामा मंगलबारदेखि प्रतिस्पर्धा भईरहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिनुभयो । आज बिहीबार प्रतियोगिताको समापन हुने कार्यक्रम तय भएको समेत उहाँले बताउनु भयो । स्वर्ण, रजत र कास्य गरी ३ सय ७८ पदकको लागि प्रतिस्पर्धा भईरहेको छ ।