नुवाकोटमा तीन जिल्लाको भुपू सैनिक सम्मेलन

  • त्रिशूली प्रवाह
  • १३ फाल्गुन २०८०, आईतवार १३:४५

बट्टार, नुवाकोट, रसुवा र धादिङ जिल्लाका भुतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा फागुन ११ गते शुक्रबार सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ‘‘भुतपूर्व सैनिक सम्मेलन २०८०’’ सम्पन्न भएको छ ।

नुवाकोट जिल्लाको सुरक्षार्थ तैनाथ जबरजंग गणको ब्यवस्थापनमा सम्पन्न सम्मेलन श्री नं.६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायकरथी रोजप्रताप जबराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि सहायकरथी जबराले भुतपूर्व सैनिक तथा उनीहरूका परिवार र सैनिक एकल महिलाको ईच्छा, आकांक्षा तथा आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने क्रममा सैनिक परिवारकै रगत, पसिनाबाट आर्जित कल्याणकारी कोषलाई पारदर्शीरूपमा सदुपयोग गर्दै लगिएको बताउनु भयो । उहाँले अवकाश प्राप्त सैनिकलाई सेवा अवधिमा आर्जित ज्ञान, सिप, अनुभव र क्षमता आफ्नो गाउँघर, समाज र राष्ट्रको उत्थानको लागि प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

सो सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माको सम्बोधन लाईभ टेलिकाष्ट (प्रत्यक्ष प्रशारण) गरिएको थियो । सम्मेलनमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका २६ सय ६७ भुतपूर्व सैनिक तथा सैनिकका परिवारको सहभागिता रहेको जबरजंग गणका गणपति प्रमुख सेनानी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । सम्मेलनमा रसुवाबाट २२, नुवाकोटबाट १ हजार १ सय ९३ र धादिङबाट १ हजार ४ सय ५२ जना भुतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजन सहभागी थिए । कार्यक्रममा तीन जिल्लाको प्रतिनिधित्व हुने गरी फरक–फरक झाँक्री र फरक–फरक क्षेत्रको लोकनृत्य प्रस्तुत गरिएको थियो । सम्मेलनमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, रसुवाका तैनाथ विष्णुदल गणका गणपति प्रमुख सेनानी बिक्रम थापा, धादिङ जिल्लामा तैनाथ शिवदल गणका प्रमुख सेनानी अरूण कार्कीलगायतको उपस्थिती रहेको थियो ।