ट्राफिक सप्ताहमा एक लाखलाई जनचेतना

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार १२:५९
  • रामहरि न्यौपाने

विदुर, सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतना वृद्धिका लागि आयोजित ट्राफिक सप्ताहमा नुवाकोटमा करिब एक लाखलाई सेवा दिइएको छ ।

प्रहरी कार्यालय नुवाकोटको नेतृत्वमा जिल्लामा गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालित सप्ताहव्यापी कार्यक्रममा सवारीधनी, चालक, यात्रु, विद्यार्थी र समुदायमा रहेका ५४ हजार पाँच सय २० जनालाई प्रत्यक्ष रूपमा र सोहीबराबरलाई अप्रत्यक्ष रूपमा सचेतना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक जनचेतना वृृद्धिका लागि सप्ताहव्यापी अभियानमा विभिन्न सत्र विधाका कार्यक्रम सम्पन्न गरिएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ नायब निरीक्षक) जेजंग कार्कीका अनुसार ५४ हजारभन्दा बढी प्रत्यक्ष र सोही सङ्ख्यामा अप्रत्यक्ष रूपमा सेवा पाउने लाभग्राही भएकाले ट्राफिक सप्ताहबाट करिब एक लाखलाई लाभ पुगेको छ । ‘¥याली, प्रभातफेरी, फोटो प्रदर्शनी, स्वास्थ्य परीक्षण, सवारीसाधनको अवस्थाको परीक्षणलगायतलाई प्रत्यक्ष सेवा पाउनेको रूपमा लिइएको छ,’ वरिष्ठ नायब निरीक्षक कार्कीले भने, ‘ट्राफिक सचेतनाका लागि गरिएका माइकिङ, भाडादर र आरक्षण सिटको अनुगमन, दीप प्रज्वलनलगायतबाट अप्रत्यक्ष रूपमा लाभ पाउनेको सङ्ख्या पनि सोहीबराबर रहेको छ ।’

बागमती प्रदेश सरकारको सहयोगमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनसँगको सहकार्यमा सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतना वृद्धिका लागि सप्ताहव्यापी कार्यक्रम गरिएको थियो । ट्राफिक सप्ताहको नेतृत्व जिल्लामा नेपाल प्रहरीको अगुवाइमा सुरु गरेर यहाँको स्थानीय तह, विद्यालय, समुदाय, सञ्चारकर्मी, सामाजिक सङ्घ–संस्थाबाट समेत विभिन्न रचनात्मक कार्य गरेर मनाएको हो । उक्त कार्यक्रममार्फत सवारी दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवार बनाउन महत्वपूर्ण योगदान पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार ट्राफिक सप्ताहमा प्रभावकारी देखिएको विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकको स्वास्थ्य परीक्षण, विद्यार्थी स्वयम्सेवक परिचालनका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने भएको छ ।