पासाङल्हामु यातायातका बसबीच खेदा–खेद

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार १३:११

विदुर, नमस्ते पासाङल्हामु यातायात प्रा.लि.अन्तर्गत नुवाकोटको ढुङ्गेदेखि रसुवाको टिमुरेसम्म नियमित बिहान ८ बजे सञ्चालन हुँदै आएको लोकल बसलाई पासाङल्हामु यातायात प्रा.लि.कै काठमाडौंबाट छुटेको बसले खेद्न थालेपछि सञ्चालनमा समस्या भएको छ । प्रा.लि.कै तीनवटा बस यो रुटमा आलोपालो नियमित सञ्चालन भइरहेका थिए । काठमाडौंबाट छुटेको बसले बिहान ७ बजेदेखि नै ढुङ्गे आएर खेद्न थालेपछि समस्या भइरहेको हो ।

यातायात प्रा.लि.अन्तर्गत ढुङ्गेबाट धुन्चे, टिमुरे, रसुवागढीसम्म आलो–पालोमा बिहान ८ बजे नियमित सञ्चालन हुँदै आइरहेको बा.२ ख.६७३९, बा.२ ख.७२१२ र बा.२ ख.२३४८ बस काठमाडौंबाट छुटेको बसले खेद्ने गरेको कारण नियमित सञ्चालनमा समस्या भएको हो । बिहान ढुङ्गेबाट छुटेको बस बेत्रावती–कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी र दिउँसो रसुवागढीबाट १२ बजे छुट्ने गरेको छ । एउटै कम्पनीमा दर्ता भई सञ्चालन भइरहेको लोकल बसलाई काठमाडौं बालाजुबाट पौने ६ बजे टोखा–छहरे हुँदै ढुङ्गे आएर एक महिनादेखि खेद्न थालेपछि सञ्चालनमा समस्या भइरहेको बसचालक चन्द्रमान महर्जनले बताए । यातायात कम्पनीले दिएको समयअनुसार सञ्चालन गर्दा पनि काठमाडौंबाट छुटेको बसले खेद्न थालेपछि अध्यक्षलगायत सञ्चालक समितिलाई गुनासो गर्दा बेवास्ता गरेको बा.२ ख७२१२ का चालक नारायण प्याकुरेलले बताए । तीनवटा बस आलोपालोमा सञ्चालन हुँदा त्रिशूलीबाट बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी, रसुवागढी आवत–जावत गर्ने सर्वसाधारणलाई सहज र साना व्यवसायी गरिरहेका पसलेलाई थोरै–थोरै सामान पठाउन र ल्याउन सहयोग पुगेको थियो । लोकल बस छुट्ने समय मिलाइदिन तीनवटा बसका चालकले समितिलाई आग्रह गरिरहेका छन् ।