जनयुद्ध र जनआन्दोलनका शहिदको शालिक अनावरण

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०८०, मंगलवार ११:५३

समुन्द्रटार, तादी गाउँपालिका वडा नं.–४ बाघमारमा रहेको शहिद पार्कमा निर्माण गरिएको जनयुद्ध र जनआन्दोलनको १८ जना विर शहिदको अर्धकदको शालिक अनावरण गरिएको छ । शनिबार आयोजित विशेष कार्यक्रमको बिच जनयुद्ध वि.संं.२०५२ देखि २०६२ सम्ममा विरगति प्राप्त गर्नुभएका तथा जनआन्दोलनको क्रममा ज्यानको बलिदानी दिनुभएका विर शहिदको शालिक अनावरणसहित विर शहिद र बेपत्ता ब्यक्तिका परिवारको सदस्यलाई सम्मान गरिएको शहिद प्रतिष्ठान तादीका संयोजक प्रदिप शर्माले जानकारी दिनुभयो ।

शहिद प्रतिष्ठान तादीले निर्माण गरेको विर शहिदको शालिक अनावरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य हितबहादुर तामाङ हुुनुहुन्थ्यों भने विशेष अतिथिको रूपमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति एवं प्रतिनिधीसभा सदस्य बिमला सुबेदी, पूर्व राज्यमन्त्री तथा वागमती प्रदेशसभाका निवर्तमान उपसभामुख एंव वागमती प्रदेशसभा सदस्य राधिका तामाङ, पूर्व प्रदेशसभा सदस्य हिरानाथ खतिवडा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीलगायतका जनयुद्ध र जनआन्दोलनको मोर्चामा जोडिएका शिर्ष नेताको उपस्थितीमा विर शहिदको शालिक अनावरण गरिएको थियो । शहिद प्रतिष्ठान तादीका संयोजक प्रदिप शर्माको अनुसार जनयुद्ध र जनआन्दोलनमा विरगति प्राप्त गनुभएका विर शहिदप्रतिको सम्मानको लागि शालिक निर्माण गरिएको हो भने सो क्रममा ज्यानको बलि दिनुभएका शहिद एंव बेपत्ता भएका ब्यक्तिको परिवारको सदस्य (परिवार) लाई प्रशंसापत्रले सम्मान गरिएको छ । अहिलेको राजनीतिक तथा सामाजिक परिवर्तनको मुख्य जग नै जनयुद्ध र जनआन्दोन भएकाले सो क्रममा ज्यानको बलिदानी दिने विर शहिदप्रतिको सम्मानको लागि नुवाकोटका पर्यटकीय क्षेत्र एंव गोसाइँकुण्ड पदमार्गमा पर्ने बाघमारामा शहिद पार्क निर्माण गरेर तादी गाउँपालिकाभित्र स्थायी ठेगाना भएका शहिदको शालिक निर्माण गरिएको हो । जनयुद्ध र जनआन्दोलनमा तादी गाउँपालिकाबाट १८ जनाले विरगति प्राप्त गर्नुभएको थियो भने तीनजना अझै बेपत्ता हुनुहुन्छ । विर शहिदको शालिक निर्माणले जनयुद्ध र जनआन्दोलनप्रति सम्मान प्रकट हुनेछ भने पर्यटकीय क्षेत्र बाघमारामा आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिईएको छ ।