नेपाली सेनाबाट निर्मित ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकी हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०८०, मंगलवार १६:३१
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर–४ चौरखर्कमा निर्माण सम्पन्न गरिएको ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकी नेपाली सेनाको मध्यपृतना हेडक्वाटर हेटौंडाका पृतनापति उपरथी प्रदिपजंग केसी र विष्णुदल गणका गणपति प्रमुख सेनानी बिक्रम थापाबाट चौरखर्क खानेपानि तथा सरसफाई उपभोक्ता समितिलाई फागुन २१ गते एक कार्यक्रमबिच हस्तान्तरण गरियो ।

विष्णुदल गणका अनुसार नागरिक सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले स्थानीय बासिन्दाको आवश्यकतालाई पहिँचान गरी विभिन्न किसिमका जनहितका कार्य भईरहेको अवस्थामा यसै आर्थिक वर्षमा मध्यपृतना हेड क्वाटरको निर्देशन बमोजिम चौरखर्कमा खानेपानी ट्यांकी निर्माण गरिएको हो । पुरानो तथा चुहावट भई खानेपानी संकलन गर्न बाधा परेको र संकलन भएको खानेपानि प्रयाप्त नहुने हँुदा खानेपानीको समस्यालाई समाधान गर्न गत माघ ४ गतेबाट ट्यांकी निर्माण शुरू गरी फागुन २१ गते विधिवतरूपमा हस्तान्तरण भएको छ । १४ लाख १२ हजार ८ सय ३ रूपैयाँ २४ पैसाको लागतमा निर्माण सम्पन्न भएको ट्यांकीबाट चौरखर्कमा ५० घरधुरीका २ सय ५० लाई पानी खान सहज भएको छ । रसुवा जिल्लामा तैनाथ विष्णुदल गण जिल्लाको सुरक्षा र निकुञ्जको सुरक्षार्थ सक्रिय भई जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै जिम्मेवारी क्षेत्रमा विभिन्न जनहितका कार्य सम्पादन गर्दै आईरहेको छ । त्यसैअनुरूप नै सेनाले पानी ट्यांकी निर्माण गरेको हो । झोभाने खोला र भालु खोलाको मुहानबाट उक्त नवनिर्मित ५० हजार लिटरको ट्यांकीमा जम्मा गरिन्छ । यो भन्दा पहिले २५ हजार लिटर मात्रै पानी अटने ट्यांकी थियो । त्यहीँ पनि जिर्ण अवस्थामा त्यहीँ ट्यांकीलाई भत्काएर ५० हजार लिटर पानी अट्ने ट्यांकी निर्माण भएपछि स्थानीयले सुखको अनुभुति गर्न पाए त्यसका लागि नेपाली सेनालाई हृदयदेखि धन्यवाद दिंदै वडा नम्बर–४ का वडाध्यक्ष अमर बुलुनले आगामी दिनमा नेपाली सेनाको साथ र सहयोग पाईरहने विश्वास ब्यक्त गरे । उक्त कार्यक्रममा मध्यपृतना हेडक्वाटरका पृतनापति, नम्बर ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायकरथी रोजप्रताप जबरा, विष्णुदल गण रसुवाका गणपति प्रमुख सेनानी बिक्रम थापा, उत्तरगया गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष अमर बुलुनले चौरखर्क खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारी, बुद्धिजिवी एवं समाजसेवीको उपस्थिती रहेको थियो ।