रोशनाको नेतृत्वमा कर्मचारी मिलन केन्द्र

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०८०, मंगलवार १६:३५

विदुर, कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डिभिजन वन कार्यालय नुवाकोटको प्रमुख (डिभिजनल वन अधिकृत) रोशना पोखरेल चयन हुनुभएको छ । शनिबार विदुरमा सम्पन्न भएको २७औं वार्षिक साधारणसभा एंव अधिवेशनमार्फत पुनःगठन गरिएको कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डिभिजनल वन अधिकृत रोशना पोखरेल सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनुभएको हो ।

यसअघि पनि डिभिजन वन कार्यालयको प्रमुख नै अध्यक्ष रहेकोमा पुनः सोही कार्यालयका प्रमुख पोखरेलले नुवाकोटमा रहेका सरकारी कर्मचारीको छाता संस्था कर्मचारी मिलन केन्द्र नुवाकोटको प्रमुखको नेतृत्व लिन सफल हुनुभएको हो । सर्वसम्मतरूपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुदर्शन सेढाई (विदुर नगरपालिका), सचिवमा राजनप्रसाद प्याकुरेल (नेपाल विद्युत् प्राधीकरण) सह–सचिवमा इन्द्रबहादुर खतिवडा (जिल्ला प्रशासन कार्यालय) र कोषाध्यक्षमा तारा गुरुङ (कृषि विकास कार्यालय) हुनुहुन्छ । यस्तै, सदस्यमा प्रशान्तकुमार थापा (डिभिजन वन कार्यालय), किशोर सापकोटा (उद्योग तथा वाणिज्य कार्यालय), केदारप्रसाद खतिवडा (किस्पाङ गाँउपालिका), सावित्रा भण्डारी (इलाका प्रशासन कार्यालय, सातबिंसे), सन्तोष बोगटी (वाणिज्य बैंक विदुर शाखा) र शिवराम ढकाल (नेपाल बैंक लिमिटेड) हुनुहुन्छ । नुवाकोट जिल्लामा कार्यरत सरकारी कार्यालय, संस्थान तथा पब्लिक लिमिटेड कार्यालयमा कार्यरत सम्पूर्ण दर्जाका कर्मचारीको हक, हित, प्रबद्र्धन तथा अभिभावकीय संस्थाको रूपमा कर्मचारी मिलन केन्द्र रहेको छ । साधारणसभा तथा अधिवेशनमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।