९० प्रतिशत बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार ११:२६
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवामा फागुन १६ देखि २० गतेसम्म सञ्चालन भएको दादुरा–रुबेला खोप अभियानमा ९०.१ प्रतिशत बालबालिकालाई दादुरा तथा रुबेलाविरुद्ध खोप लगाइएको छ । स्वास्थ्य कार्यालय रसुवाका प्रमुख भीमसागर गुरागाईंका अनुसार जिल्लाको पाँचवटै गाउँपालिकामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो ।

अभियानमा खटिएका पाँचवटै पालिकाका स्वास्थ्य प्रमुखबाट प्राप्त तथ्याङ्कअनुसार कालिकामा आठ सय १९, उत्तरगयामा ६ सय २०, नौकुण्डमा एक हजार एक सय ९२, गोसाइँकुण्डमा ६ सय २० र आमाछोदिङ्मोमा ६ सय १४ जनालाई खोप लगाइएको छ । सबैभन्दा धेरै दादुरा–रुबेला खोप अभियानमा गोसाइँकुण्ड गाउँपालिकाले लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप लगाउन सफल भएको छ । १८ वटा खोप केन्द्रबाट गाउँपालिकाले लक्ष्यको एक सय ६ प्रतिशत बालबालिकालाई खोप लगाउन सफल भएको छ । कुल सङ्ख्या गरी ६ सय ५६ बालबालिकालाई दादुरा तथा रुबेलाविरुद्ध खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमलकुमार घिमिरेले बताए । खोप अभियानअघि व्यापक रूपमा प्रचार–प्रसार गरेकाले लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाउन सकिएको उनले बताए । ‘खोप अभियानबारे जानकारी दिन स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मी बालबालिकाको घरमै पुगेका थिए । जनप्रतिनिधिले खोप अभियान सफल बनाउन प्रत्यक्ष भूमिका निर्वाह गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए । आठवटा खोप केन्द्रबाट कालिका गाउँपालिकाले लक्ष्यको ८७.२ प्रतिशत बालबालिकालाई खोप लगाउन सफल भएको छ । उत्तरगयाको नौ खोप केन्द्रमार्फत ७७.२ प्रतिशत, आमाछोदिङ्मोको नौ खोप केन्द्रमार्फत ९६ प्रतिशत र नौकुण्ड ११ खोप केन्द्रमार्फत ८४.३ प्रतिशत बालबालिकालाई खोप लगाइएको छ ।

त्यसैगरी, कालिका गाउँपालिकाले ६ सय १४, उत्तरगयाले पाँच सय ५५, नौकुण्डले एक हजार पाँच र आमाछोदिङ्मोमा ६ सय ९४ जना बालबालिकाले खोप लगाएका छन् । रसुवा जिल्लाअन्तर्गत सञ्चालनमा रहेको दादुरा–रुबेला खोप अभियानमा कोही बालबालिका अझै दादुरा–रुबेलाको खोप लगाउन छुटेको खण्डमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्य कार्यालय रसुवाले अनुरोध गरेको छ ।