भैरवी माविलाई आवासीय विद्यालयमा रूपान्तरण गर्न प्रतिबद्धताको ओइरो

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार ११:३२

अशोकबारी, जिल्लाको पुरानो र लामो इतिहास भएको विद्यालयमध्येको एक भैरवी मावि विदुर नगरपालिका-२ नुवाकोटको ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस गत शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि, अतिथि र उपस्थित व्यक्तित्वबाट विद्यालयलाई आवासीय विद्यालयमा रूपान्तरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

कार्यक्रमको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गरेका थिए । नगरपालिकाले दरबन्दी मिलान र विद्यालय समायोजनलाई नियमित रूपबाट हरेक वर्ष गर्दै जाने र विद्यालयको शिक्षण सुधारलाई प्राथमिकतामा राख्ने श्रेष्ठले बताए । जनसङ्ख्या विस्थापन र भौगोलिक कारणले विद्यार्थी सङ्ख्या कम हँुदै जाँदा गत भदौमा अन्यत्र पदस्थापन गरिएका पाँच दरबन्दीमध्ये मावि द्वितीयको एक दरबन्दी पुनः भैरवी माविमा कायम हुने निर्णय नगर शिक्षा समितिबाट भएको जानकारी गराउँदै उनले विद्यालयलाई आवासीय विद्यालयमा रूपान्तरण गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पाण्डेले नगरपालिकाले निर्णय गर्दा भूगोल, जनसङ्ख्या, विद्यार्थीको आर्थिक–सामाजिक स्थितिलाई विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा प्रधानाध्यापक प्रेमचन्द्र श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयको शैक्षिक सुधार रणनीति तथा विद्यालय सुधार योजना ०८०/८४ बारे जानकारी गराएका थिए । सो कार्यक्रममा वि.व्य.स.का पूर्वअध्यक्ष महेन्द्रलाल श्रेष्ठले स्थानीय तहले विद्यालयसँग सम्बन्धित निर्णय गर्दा वि.व्य.स. र विद्यालय प्रशासनसँग समन्वय गरेर मात्र गर्दा व्यावहारिक हुने बताए । उक्त कार्यक्रममा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष विश्वप्रह्लााद श्रेष्ठ, वि.व्य.स.का सदस्य भगवती कुँवर, विद्यार्थी कुशल भट्ट, पूर्वशिक्षक नारायणमान डङ्गोल, पूर्वविद्यार्थी तथा हेराल्ड इन्टरनेसनलका निर्देशक अशोकराज पाण्डे, पूर्वविद्यार्थी एवम् नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष सरोज बानियाँ, लिखु गाउँपालिका–१ का वडाध्यक्ष नरहरि पाण्डे, विदुर नगरपालिका–४ अध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीलगायतले भैरवी माविलाई आवासीय विद्यालयमा रूपान्तरण गर्ने कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विभिन्न प्रतियोगितामा सफल हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । चित्रकलामा प्रदेशस्तरमा पुरस्कृत हुने अमृता विश्वकर्मा, फुटबलमा प्रदेशस्तरमा छनोट हुने रिहना तामाङ तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक विजेता विद्यार्थीलाई प्रशंसापत्र वितरण गरिएको थियो । गम्भीरजंग राणा छात्रवृत्ति कोष, कृष्णबरसिंह खड्का छात्रवृत्ति कोष, बुद्धिबल मिजार छात्रवृत्ति कोष, टंकशक्ति छात्रवृत्ति कोषबाट २३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका शिक्षक रामहरि आचार्यले जानकारी दिए । एसएलसी ब्याच २०६० को तर्फबाट विज्ञान श्रेष्ठले सबै पूर्वविद्यार्थीलाई विद्यालयलाई सहयोग गर्न अनुरोध गर्दै तीनजना विद्यार्थीलाई सहयोग गरेका थिए । कक्षा १२, २०७६ समूहद्वारा सुस्मिता खड्गीको संयोजनमा १० जना विद्यार्थीलाई सहयोग गरिएको थियो । उत्साही महिला समूहद्वारा शर्मिला श्रेष्ठको संयोजनमा सातजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति कोषका संरक्षक रामकृष्ण मिजार र टीकाराम पाण्डेको उपस्थिति थियो । विद्यालयका शिक्षक देउती अधिकारीले शिक्षण सिकाइमा शिक्षक र अभिभावकको भूमिकाबारे जानकारी दिएकी थिइन् ।