वनको जग्गामा सूर्यगढीको प्रशासकीय भवन बन्ने

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार १२:००

बागेश्वरी, नुवाकोटका दशवटा गाउँपालिका र दुईवटा नगरपालिकामध्ये ६ वटा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भई कार्यालय सञ्चालन भइसकेको छ भने दुईवटा गाउँपालिका र दुईवटा नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको छ । सङ्घीयताको जगको रूपमा रहेका नुवाकोटको दुईवटा पालिकाले भने भवन बनाउने जग्गा नपाएको कारण छुट्याएको बजेट खर्च हुन सकिरहेको थिएन ।

पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित सूर्यगढी गाउँपालिकाका जनप्रतिनिधिले भवन बनाउन जग्गाको खोजी थालेका थिए । गाउँपालिकाले सुरुदेखि बजेट छुट्याए पनि जग्गाको अभावमा भवन निर्माण गर्न सकेको थिएन । पछिल्लो समय भवन निर्माणका लागि पालिकाको वडा नम्बर ३ को तीनथुम्के वन क्षेत्रको ६ रोपनी जग्गामा भवन निर्माण गर्न प्रस्ताव गरेर निर्माण कार्यका थालनी गरेपछि उच्च अदालत पाटनमा रोक्नका लागि रिट दायर भएको छ । उक्त रिटको पक्षमा अदालतले फैसला गर्दै वन क्षेत्रमा रहेको मठमन्दिरको र वन क्षेत्रको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले संरक्षण गर्दै उपभोग गर्न सक्ने फैसला गरेपछि पालिकाको भवन बनाउने जग्गा सुनिश्चित भएको छ । पालिकाले प्रस्तावित भवन निर्माण गर्ने क्षेत्रमा रहेको २००० वर्ष पुरानो शिव मन्दिरको संरक्षण गर्दै भवन बनाउन पाउने फैसला अदालतले गरेपछि पालिकाले स्थायी भोगअधिकार पाएको छ । पालिकाले वन क्षेत्रबराबरको वन क्षेत्रसँग जोडिएको जग्गा नेपाल सरकारलाई सट्टाभर्ना वा वन नियमावली, २०७९ बमोजिम मूल्याङ्कनको रकम वन विकास कोषमा दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ । वन नियमावली, २०७९ बमोजिम पालिकाले ६ रोपनी जग्गा प्रयोग गर्नका लागि वन विकास कोषमा तोकिएअनुसारको राजस्व नौ लाख रुपैयाँ बुझाउनुपर्नेछ । पालिकाका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउन सङ्घीय मन्त्रिपरिषद्ले फागुन १४ गते निर्णय गरेर कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो । अदालतको फैसला कार्यान्वयन गर्दै मन्त्रिपरिषद्ले निर्णय गरेपछि सूर्यगढी गाउँपालिकाको भवन अब भने निर्माण हुने भएको छ ।

सरकारले सूर्यगढीको प्रशासकीय भवन निर्माणका लागि सूर्यगढी–३ तीनथुम्कोको ६ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले ६ रोपनी वनको जग्गा उपलब्ध गराउन वन मन्त्रालयमार्फत अनुमति दिएको हो । यसअघि जग्गा उपलब्ध नहुँदा पालिकाको प्रशासकीय भवन निर्माण हुन सकेको थिएन । ६ वर्षदेखिको निरन्तर प्रयासपछि सूर्यगढी तीनथुम्कीमा ६ रोपनी जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले बताए । सूर्यगढी गाउँपालिकाले चालू आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रमबाट एक करोड बजेट विनियोजन गरिसकेको छ । भवनको डिपिआरसमेत तयार भइसकेको अध्यक्ष तामाङले बताए । हालको बजेटबाट जग्गा सम्याउनुका साथै ठेक्का खोलेर भवन निर्माण गर्ने तयारी गर्ने उनले बताए । गाउँपालिकाले जग्गा प्राप्त गरे पनि डिभिजन वन कार्यालय नुवाकोटसँग समन्वय गरेर काटिएको रुखको एकबराबर अन्यत्र १० बिरुवा लगाउनुपर्ने प्रावधान राखिएको छ । केही व्यक्तिको जग्गा मिलाएर भवन निर्माणको कार्य सुरु गरिने अध्यक्ष तामाङले बताए । ढिलै भए पनि गाउँपालिकाको प्रशासनिक कार्यालय बन्ने पक्का भएपछि पालिकावासी खुसी भएका छन् ।
सूर्यगढीको प्रमुख प्रशासकीय भवन बन्ने टुङ्गो लागेसँगै जिल्लाको अब लिखु गाउँपालिकाको मात्र भवन बनाउन बाँकी रहेको छ । लिखुले पनि दुई–तीन स्थानमा जग्गाको टुङ्गो लगाएर छनोटको प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा नुवाकोट जिल्लाका ११ वटा पालिकालाई पछि पार्दै लिखु गाउँपालिका २०७८ देखि अब्बल बनेको छ ।