महँगो शुल्क तिर्दैमा गुणस्तरीय शिक्षा हुँदैन : नगरप्रमुख

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार १२:०२

बट्टार, नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको समता विद्यालयको छैटौँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गरेका थिए । उनले सो कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले भने, ‘महँगो शुल्क तिरेर मात्र गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने परम्परागत मान्यतालाई समताले तोडेको छ ।’ विदुर नगरपालिकामा सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्न समता विद्यालयले खेलेको भूमिकाको उनले खुलेरै चर्चा गरे । गैरनाफामूलक संस्थाको रूपमा समताले विदुर नगरपालिकाका बालबालिकालाई सरल र सुलभ शुल्कमा शिक्षा दिइरहेको छ । कार्यक्रममा समता विद्यालयका संस्थापक अध्यक्ष उत्तमकुमार सञ्जेलले समता विद्यालयको सञ्जाल देशैभर रहेको जानकारी गराए । विद्यालयले राजधानी काठमाडौंलगायत देशभरका प्रमुख सहर र ग्रामीण बस्तीमा समेत सरल शुल्कमा हजारौँ विद्यार्थीलाई पढाइरहेको छ । सञ्जेलले भने, ‘समता विद्यालयबाट उत्तीर्ण विद्यार्थी डाक्टर, इन्जिनियर, सरकारी उच्च ओहोदामा समेत पुगेका छन् ।’ कार्यक्रममा विद्यालयले यस शैक्षिक सत्रमा सञ्चालन गरेका खेलकुद तथा विभिन्न कार्यक्रमका उत्कृष्ट विद्यार्थीका साथै गत शैक्षिक सत्रमा विभिन्न तहमा उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको थियो । समता विद्यालयमा प्ले ग्रुपदेखि कक्षा पाँचसम्म दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी प्रिन्सिपल भावना भट्टराईले बताइन् । यस विद्यालयवाट उत्तीर्ण भई अन्य विद्यालयमा कक्षा पाँचभन्दा माथि अध्ययन गर्न गएका विद्यार्थी त्यहाँ पनि उत्कृष्ट स्थानमा रहेको भट्टराईले जानकारी दिइन् ।