ढुङ्गे खण्डको क्षतिपूर्ति वितरण सुरु

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार १२:१३

विदुर, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गतको विदुर नगरपालिका क्षेत्रको ढुङ्गे क्षेत्रका घर–टहराको क्षतिपूर्ति वितरण सुरु भएको छ । योजना कार्यालयले सडक प्रभावितलाई सम्पर्क गर्न आउने सूचना प्रकाशित गरेर प्रक्रिया पु¥याई क्षतिपूर्ति रकम वितरण सुरु गरेको हो ।

नौ वर्षअघि राष्ट्रिय गौरवको योजनामा समावेश गरेर निर्माण थालेको यो सडकको निर्माण घर–जग्गाको क्षतिपूर्तिको कारणले रोकिएको थियो । स्थानीय प्रभावितले अदालतमा क्षतिपूर्तिका लागि दिएको मुद्दा गत वर्ष सर्वोच्च अदालतले फैसला गर्दै जग्गाको मुआब्जा दिनु नपर्ने, घर–टहराको उचित क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाको पूर्णपाठ आउन ६ महिना लागेकाले गत वर्षको मङ्सिरको फैसला कार्यान्वयनमा आउन एक वर्ष ढिला भएको छ । कार्यालयले ढुङ्गेदेखि विदुरको नेपाल बैंक चोकसम्मका २२ जना र गँगटेदेखि बट्टार राम मन्दिरसम्मका ११ जनाको घर–टहराको मूल्याङ्कन गरेर क्षतिपूर्ति रकम निर्धारण गरेर सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाअनुसार प्रमाणसहित दाबी गरेर घरधनीले मूल्याङ्कन भएको रकम बुझ्न थालेको योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । ढुङ्गे र विदुर क्षेत्रका मूल्याङ्कनमा छुटेका र बाँकी सडक प्रभावितले आफ्नो घर–टहराको मूल्याङ्कन गरिदिन भन्दै दैनिक आइरहेको उनले बताए । घर–टहराको मूल्याङ्कन भएको रकम प्रक्रिया पु¥याएर पशुपति थपलिया, यमुना रञ्जित, ठाकुरप्रसाद खतिवडाले बुझेर लगी भौतिक संरचना भत्काइसकेका छन् भने अन्यले पनि प्रक्रिया पूरा गरेर भत्काउन सुरु गरेका छन् ।