स्याउरीभूमे माविको वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार १२:१५

सिक्रे, नुवाकोटको शिवपुरी गाउँपालिका–४ देउरालीमा रहेको स्याउरीभूमे माध्यमिक विद्यालयको आइतबार ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए । उच्च शिक्षा अध्ययनको बहानामा धेरै युवाशक्ति ठूलो रकम खर्चेर विदेश पालयनको जोखिम रोक्न सरकारले गाउँगाउँमा सडक, प्रविधि र शिक्षा पु¥याएर रोजगारी सिर्जना गर्न लागिएको उनले जानकारी दिऐ । ‘कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन,’ उनले भने, ‘परिवार पाल्न र सन्ततिको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामहरि खड्काले विद्यालयको आर्थिक, शैक्षिक र भौतिक प्रगति विवरण प्रस्तुत गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा पूर्वराज्यमन्त्री तथा बागमती प्रदेश सभाकी निवर्तमान उपसभामुख एवम् बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, प्रतिनिधिसभा सदस्य सीता मिजार, नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् बागमती प्रदेश सभाका निवर्तमान सदस्य बद्री मैनाली, नेकपा एमालेका नेता सुशील खड्का, नेपाली काङ्ग्रेसका नेता डा. केदारनरसिंह केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. प्रद्युम्न महत, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियालगायतको उपस्थिति रहेको थियो । ०३९ मा स्थापना भएको स्याउरीभूमे माविमा पशुविज्ञान विषयको तीनवर्षे डिप्लोमाको कक्षासमेत सञ्चालनमा रहेको छ । उक्त अवसरमा पूर्वविद्यार्थी एवम् गिनिज बुकमा सबैभन्दा लामो समय बोलेर विश्वरेकर्ड कायम गरेका डा. अनन्तराम केसीसहित जग्गादाता, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारीलगायतलाई सम्मान गरिएको थियो ।