विदुरका ६० सामुदायिक विद्यालयमध्ये २७ को व्यवस्थापन समिति रिक्त

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार १२:२२

विदुर, नुवाकोटको विदुर नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयको व्यवस्थापन समिति रिक्त भएपछि अभिभावक भेला बोलाउने तयारी विद्यालयले गरिरहेका छन् ।

नेपालको संविधानले स्थानीय निकायलाई सामुदायिक विद्यालयको जिम्मेवारी तोकेको छ । नुवाकोटको पहिलो नगरपालिका विदुरको जिम्मामा रहेका ६० सामुदायिक विद्यालयमध्ये २७ वटा विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएको विवरण तयार पारी विद्यालयलाई अभिभावक भेला बोलाउने प्रक्रिया अगाडि बढाउन नगरपालिकाले निर्देशन गरेको छ । विद्यालय व्यवस्थापन समितिको म्याद नसकिँदै विद्यालय व्यवस्थापन समितिले अभिभावक भेला डाक्न सक्ने शिक्षा ऐन र नियमावलीमा व्यवस्था भए पनि २७ वटा विद्यालय व्यवस्थापन समितिले उक्त अधिकार प्रयोग गर्दै अभिभावक भेला राख्न सकेनन् । विदुर नगरभित्रका आधारभूत विद्यालयदेखि मावि र उमाविसम्मको व्यवस्थापन समिति रिक्त रहेको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको जिल्लाकै पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविको समेत व्यवस्थापन समितिको म्याद समाप्त भएको छ । जिल्लाकै पहिलो विद्यालय मावि र उमाविसम्म सञ्चालन गर्ने त्रिभुवन त्रिशूली माविमा विद्यार्थी सङ्ख्या पनि जिल्लाभरिका विद्यालयको भन्दा अध्यापन गर्नेको सङ्ख्या पनि बढी रहेको छ । त्रिभुवन त्रिशूली मावि, त्रिशूलीसहित विदुरको वडा नम्बर १ कै इन्द्रायणी आधारभूत विद्यालय, वडा नम्बर ३ मा रहेको चण्डेश्वरी आ.वि., चण्डी आ.वि., क्षेत्रपाल आ.वि., सेतीदेवी आ.वि. र वडा नम्बर ४ मा रहेको बालमन्दिर आ.वि.को समेत व्यवस्थापन समिति रिक्त रहेका छन् । त्यसैगरी, विनपा– ५ को सहिद जगतप्रकाशजंग शाह संस्कृति मावि, रक्तकाली आ.वि., वडा नम्बर ६ मा रहेको मान्द्रेढुङ्गा आ.वि. र सुन्दरादेवी आ.वि.मा समेत व्यवस्थापन समितिको म्याद समाप्त भइसकेको छ । म्याद समाप्त भएका विद्यालयमा विदुर नगरपालिका– ७ को रत्न आ.वि., सुन्दरा आ.वि., सुन्दरा आ.वि. पतिचौतारा, वडा नम्बर ८ को जनशक्ति आ.वि., पृथ्वी नवप्रकाश आ.वि. रहेका छन् । त्यसैगरी, विदुर नगरपालिका– १० मा रहेको सुन्दरी क्यौरेनी मा.वि., वडा नम्बर ११ मा रहेको महाकाली आ.वि., चेतना आ.वि., सेतीदेवी मा.वि., शान्ति कल्याण आ.वि., सिद्धेश्वर आ.वि. रहेका छन् । विदुर नगरपालिका– १३ मा रहेका संसारीदेवी आ.वि., नयाँ नेपाल आ.वि., प्रगतिशील आ.वि., सिर्जनशील आ.वि. र कल्याण आ.वि.मा पनि विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भइसकेको छ ।

रिक्त विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयका प्र.अ., वडाध्यक्ष वा वडाध्यक्षले तोकेको प्रतिनिधि र नगर शिक्षा शाखाको प्रतिनिधि सम्मिलित तीन सदस्यीय समितिले अभिभावक भेला डाक्नुपर्ने व्यवस्था शिक्षा नियमावलीमा रहेको छ । उक्त नियमावलीअनुसार व्यवस्थापन समिति रिक्त रहेका विद्यालयमा अभिभावक भेला बोलाउने तयारीमा जुटेको नगरपालिकाका सूचना अधिकारी तथा वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र नेपालले जानकारी दिए । चैत र वैशाखमा वार्षिक परीक्षा लिनुपर्ने र नयाँ भर्ना अभियान सञ्चालन गर्नुपर्ने भएकाले अभिभावक भेला डाक्न विद्यालयले नसक्ने अवस्था रहेको छ । शिक्षा ऐन र नियमावलीमा व्यवस्था भएअनुसार विद्यालय व्यवस्थापन समिति नौ सदस्यीय गठन हुनेछ । अभिभावक भेलाले दुईजना महिला र एकजना दलित महिलासहित चारजना चयन गर्नेछ । उक्त चारजना सदस्यले दुईजना महिला मनोनीत गर्नुपर्ने व्यवस्था रहेको छ । विद्यालय व्यवस्थापन समितिको कार्यकाल तीन वर्षको रहने व्यवस्था शिक्षा नियमावलीमा उल्लेख छ ।