बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १३:१७

किस्पाङ, नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनको छोरा र बुहारी पक्राउ परेका छन् ।

५५ वर्षका नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा उनका छोरा र बुहारीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । उनको अनुुसार पक्राउ पर्नेमा १७ वर्षका फुलकुमार (परिवर्तित नाम) र उनकी श्रीमती ३७ वर्षकी जमुना नेपाली रहेका छन् । ‘भरत र उनको छोराबीच फागुन २५ गते मंगलबार रातिको समयमा घरायसी विषयमा भएको विवादमा फुलकुमार र उनकी श्रीमती जमुनाले ‘ढोकामा लगाउने आग्लोले टाउकोमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो,’ प्रनाउ खड्काले भने, ‘शवको पोस्टमार्टम प्रतिवेदन र अभियुक्तको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्तले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । हाल १७ वर्षका फुलकुमारले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चात्देखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् ।