जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छ

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १४:०२

सुवास बुढाथोकी
प्रहरी नायब उपरीक्षक
जिल्ला प्रहरी कार्यालय, रसुवा

विगत १४ महिनादेखि जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख भएर सुवास बुढाथोकी जिल्लाको शान्ति, सुरक्षा कायम गर्न अहोरात्र खटिरहेका छन् । चीनसँग सिमाना जोडिएको रसुवा जिल्ला भूगोलको हिसाबले सानो भए पनि अन्तर्राष्ट्रिय नाका सञ्चालनमा रहेकाले सुरक्षाको नयाँ–नयाँ चुनौती प्रहरीले सामना गरिरहनुपरेको छ । चीनसँगको सञ्चालनमा रहेका नाकामध्येको अति व्यस्त र नेपाल सामान भित्रिने नाका रसुवागढीको सुरक्षासमेत जिल्ला प्रहरी कार्यालय रसुवाको जिम्मामा रहेको छ । जिल्लाको समग्र शान्ति, सुरक्षा, प्रहरी र आमनागरिकबीचको सम्बन्धबारे त्रिशूली प्रवाह साप्ताहिककी जिल्ला संवाददाता सरस्वती न्यौपानेले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख बुढाथोकीसँग गरेको कुराकानीको सार-सङ्क्षेप :

जिल्ला प्रहरी कार्यालय रसुवाको जिम्मेवारी सम्हाल्नुभएको कति भयो ?
म विगत १४ महिनादेखि जिल्ला प्रहरी कार्यालय रसुवाको जिम्मेवारी सम्हालिरहेको छु । जिल्लाको शान्ति, सुरक्षा कायम राख्न सरोकारवाला पक्षसँग समन्वय र सल्लाह गरेर काम गरिरहेको छु ।

रसुवा जिल्लामा तपाईं आएपछि नागरिकले सुरक्षाको अनुभूति गर्न पाएका छन् ?
नेपाल प्रहरी सङ्गठन तथा सम्पूर्ण प्रहरी कर्मचारीको मुख्य काम नै समाजमा अपराध रोकथाम, नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्नु नै हो । जिल्ला प्रहरी प्रमुख भएर आउनु र जानु त नियमित प्रक्रिया मात्र हो । यस क्रममा फेरिने भनेको पात्र मात्रै हो, जिम्मेवारी फेरिने कुरा हँुदैन । जिल्लाको समग्र शान्ति–सुव्यवस्थाको अवस्था सन्तोषजनक रहेको छ । कुनै पनि घटना घटेमा अथवा हुन लागेको सूचना हामीलाई प्राप्त हुनेबित्तिकै सो स्थानको नजिकको प्रहरी युनिटबाट प्रहरी परिचालन गरिन्छ र घटना घटेमा अथवा हुन लागेको सूचना हामीलाई प्राप्त हुनेबित्तिकै सो स्थान नजिकैको प्रहरी युनिट प्रहरी परिचालन गरिन्छ र घटनाको प्रकृतिअनुसार प्रहरी कारबाही अगाडि बढाउने गरेका छौँ । प्रत्येक प्रहरी युनिटबाट २४सै घण्टा आफ्नो जिम्मेवारी इलाकामा गस्ती तथा पिकेट परिचालन हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट सिनियर प्रहरी अधिकृतको कमाण्डमा महिनाको दुई–तीनपटक लामो दूरीको गस्तीसमेत ग्रामीण भेगमा सञ्चालन गरेका छौँ भने यस जिल्लाको सम्पूर्ण घरधुरीमा पुग्ने लक्ष्यका साथ एकीकृत गस्ती कार्ययोजना २०८० अन्तर्गत सम्पूर्ण प्रहरी युनिटको हालसम्म ६ हजार पाँच सय घरधुरीमा स्टिकरसमेत टाँस गरिसकेको अवस्था छ । स्टिकर टाँस भएको घरको घरमूलीको सम्पर्क नम्बरसहितको सम्पूर्ण विवरणसमेत लिएका छौँ । जिल्लामा बसोवास गर्ने व्यापार/व्यवसाय गर्ने तथा भ्रमणका लागि आउने पर्यटकले समेत निर्धक्क रूपमा आफ्नो दैनिकी सञ्चालन गर्न पाएका छन् । तसर्थ यस हिसाबमा जिल्लामा रहने सम्पूर्ण नागरिकले मजबुत सुरक्षाको अनुभूति गर्नुभएको हामीलाई विश्वास रहेको छ ।

जिल्लामा घटनाका उजुरी कत्तिको आउँछन् ?
औसतमा भन्नुपर्दा जिल्लामा प्रहरी कार्यालयमा महिनाको १५ देखि २० वटा जति उजुरी प्राप्त हुने गरेका छन् । त्यसरी परेका उजुरीको सम्बन्धमा तत्कालै आवश्यक कारबाही गरिने गरिएको छ । अन्य जिल्लाको तुलनामा रसुवामा उजुरी गर्नेको सङ्ख्या कम नै छ ।

कस्ता उजुरी आउने गरेका छन् ?
बढी मात्रामा प्राप्त हुने उजुरीको हकमा मानिस हराएका, झै–झगडा, काम गरेबापतको पारिश्रमिक नपाएको, आर्थिक अपराध र साइबर केस रहेका छन् ।

जिल्लामा प्रहरीको साङ्गठानिक संरचना र सङ्ख्या कति छ ?
रसुवा जिल्लामा पाँचवटा पालिका छन् । ती पालिकाको मुख्य–मुख्य स्थानमा २२ वटा प्रहरी युनिट रहेका छन् । उक्त युनिटबाट २४सै घण्टा प्रहरीले आफ्नो काम–कारबाही सम्पादन गरिरहेको छ भने हाल पर्याप्त मात्रामा नै प्रहरीको जनशक्ति रहेको छ ।

तपाईं धेरै जिल्लामा बसेर काम गरिसक्नुभएको छ । अरू जिल्लामा भन्दा रसुवामा के फरक पाउनुभयो ?
भौगोलिक हिसाबमा केही विकट रहे तापनि अन्य स्थानको जस्तो सुरक्षा, चुनौती तथा अपराधको प्रकृति जिल्लामा देखिएको छैन । राजधानीनजिकैको जिल्ला भएकाले काठमाडौंलगायत नजिकका जिल्लामा विभिन्न घटनामा संलग्न भई यस जिल्लामा आएर लुकिछिपी बस्ने तथा सामाजिक एकतालाई यहाँको नागरिकले एकदमै सम्मान गरेको पाएको छु । जुन अति महत्वपूर्ण पक्ष हो । रसुवाका नागरिक झै–झगडा गर्ने र अनावश्यक ठगी गर्ने प्रवृत्तिका पाइनँ । त्यसले गर्दा प्रहरीलाई काम गर्न सजिलो छ । प्रहरीले नागरिकलाई सहयोगी रूपमा हेर्ने गरेको पाएँ । अरू जिल्लाभन्दा रसुवा शान्त रहेको पाएँ ।

प्रहरी र आमनागरिकको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सामाजिक न्याय र सुरक्षाको विषय नै प्रहरीको उद्देश्य हो । जसलाई सशक्त बनाउन हामी समुदाय प्रहरी साझेदारीअन्तर्गत समुदायमा पुगिनै रहेका हुन्छौँ । नागरिकका दुःखको साथी बनिरहेका हुन्छौँ । प्रहरी आफ्नो कार्य सम्पादनको कुरामा नागरिकबाट सदैव सकारात्मक सहयोगको अपेक्षा गरेको हुन्छ । नागरिकस्तरबाट प्राप्त हुने यस्ता सकारात्मक सोचका साथ एक–अर्कामा हातेमालो गर्दै शान्त, सुरक्षित तथा न्यायिक समाजको निर्माणमा अग्रसर हुने खालको हुनुपर्छ जस्तो लाग्छ ।