नुवाकोटको पूर्वी भागको परिवेश ‘चरीमाई’

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १४:१०
  • श्याम रिमाल

कथा, कविता, गीत, हाइकु र मुक्तक लेख्दै आएकी अञ्जना पौडेल पहिलोपटक ‘चरीमाई’ (इन्डिगो इन्क प्र्रा.लि., २०८० वैशाख) उपन्यासका साथ देखा परेकी छिन् । मानवशास्त्रमा विद्यावारिधि गरिरहेकीले पनि उनी सोही विषयमा केन्द्रित भएर आख्यानात्मक चौथो कृति प्रकाशन गर्न सक्षम भएको हुनुपर्छ । लमजुङ माइत भएर पनि नुवाकोट पूर्वी भागको परिवेश राखेर लेखकले बेचबिखनमा परेका सीमान्तकृत चेलीको सामूहिक स्वर अभिव्यक्त गरेको प्रस्तुत ‘चरीमाई’ नेपालका ‘चरीमाईप्रति’ नै समर्पित छ ।

उपन्यासको कथा सरल छ M छोरी जन्मँदा खुसी हुने, नुवाकोटको कुनै गाउँको परिवारमा जन्मेकी चरीमाईलाई उनका बाबुले १४ वर्षको उमेरमै गाउँकै २५ वर्षे केटा कमानसिंहसँग उनको इच्छाविपरीत जबर्जस्ती बिहे गराइदिन्छन् । उनको पति भनाउँदोले उनलाई काठमाडौंमा व्यापार गर्ने भनी लगेर पछि औषधि खुवाई भारतको बम्बैमा बेचिदिन्छ । त्यहाँ उसलाई आफ्नै गाउँभन्दा परकी आफ्नै जातकी एक महिलाले आफूले चलाएको कोठीमा जबर्जस्ती धन्दामा लगाउँछिन् । त्यहाँ ऊजस्तै दलालमार्फत बेचिएका अरू चेली पनि हुन्छन् । भारतमा १६ वर्षमुनिका लागि त्यस्तो काममा लगाउन नपाइने कानुन बने पनि त्यो लागू हुँदैन । पछि कोठीबाट बाहिर जान छुट दिने, ग्राहकले कोठीबाट बाहिर लग्ने क्रममा एक दिन भागेर उनी एक नेपाली चौकीदारका मदतबाट काठमाडौं हुँदै गाउँ फर्किन्छिन् । तर, त्यहाँ पनि उनका बाले बस्न दिँदैनन् । माइतबाट केही पर टहरो हालेर बसिरहेकी उनले बा र कुनै पार्टीको गाउँको अध्यक्ष भएको आफ्नो कथित पतिविरुद्ध उजुरी दिँदा पनि प्रहरीचौकीले लिन मान्दैन । उल्टो उनलाई ‘बम्बैमा केटी बेच्ने दलाल’ भनेर आरोप लगाइन्छ, गाउँका नेता, वडाध्यक्ष र प्रहरीसमेतले घर छाडेर हिँड्न दबाब दिन्छन् । फर्केर माइतीनजिकै मितिनीका घर आउँदा पनि त्यहाँका अज्र्याल बाजेले काठमाडौं लगेर यौन शोषण गर्छन्, गर्भवती बनाउँछन् । फलफूल बेच्ने तराईका रामलालले पनि उसै गरी बिहे गरेको बहाना बनाएर उनलाई वीरगन्ज लग्छ । त्यहाँ एक महिलाले उनलाई पहिलेकै बम्बैकी कोठी सञ्चालिकालाई बेचिदिन्छिन् । त्यहाँ उसले अज्र्याल बाजेका तर्फबाट ‘गङ्गाजमुना’ जन्माउँछिन्, तिनलाई पनि धन्दामै लगाउन विवश पारिन्छ । उनी फेरि गाउँ फर्की होटेल व्यवसायमा लाग्छिन् । त्यहाँ उनको गाउँले जितबहादुरसँग विवाह भई एक छोरी जन्मन्छिन् । पछिल्लो लोग्नेको हत्या हुन्छ । बम्बैमा नै पु¥याइएकी गाउँकै शान्ति दिदी र उनले गैरसरकारी संस्थाको सहयोगमा दिएको मुद्दाबाट नुवाकोट अदालतबाट कमानसिंह विरुद्ध जन्मकैदको फैसला हुन्छ । तर, तीन महिनापछि पुनरावेदन अदालतले बेकसुर रहेको आदेश दिन्छ ।

यो कथा उपन्यासकी नायिकाले अमेरिकामा विद्यावारिधि गर्न गएका र नुवाकोटमा अनुसन्धान गर्न आएका एक विद्यार्थी भूपेन्द्रलाई सुनाएकी हुन् र वक्ता तिनै हुन् । अब चरीमाई र उनकी कान्छी छोरी लता कमानसिंहजस्ता अपराधीलाई कारागार पु¥याउन सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छन् । उपन्यासको कथावस्तु खासै नौलो होइन, ग्रामीण भेग खासगरी बागमती प्रदेशका जिल्लामा चेलीबेटी बेचबिखनका थुप्रै घटना भएका छन् र अदालती प्रक्रियामा गएका छन् । तैपनि यदाकदा यस्ता घटना दोहोरिइरहेका छन् । उपन्यासकारले आन्तरिक पर्यटकका रूपमा घुम्दा र घटना नियाल्दा पाएको ज्ञानलाई यस कृतिका रूपमा उभ्याएकी हुन् । आफ्ना छोरी, दिदीबहिनी, पत्नीलाई नै दलाल, धन्दा व्यवसायीलाई बेच्ने अमानवीय प्रवृत्ति र यौनधन्दामा जबर्जस्ती लाग्नुपर्ने चेलीको विवशतालाई उठाएर लेखिकाले त्यस्तो बेचबिखन बन्द गर्न, बेचिएकाको सकुशल रिहाइ गर्न र समाजमा सम्मानित जीवन बाँच्न पाउनुपर्ने तिनको अधिकारकाबारे आवाज उठाउन गरेको प्रयत्न प्रशंसनीय छ । भूमिका लेखक कृष्ण धरावासीले घरेलु हिंसा, बलात्कार, बेचबिखनजस्ता कुरामा कानुन र समाजलाई खासै चासो नभएको र यस्तै चरित्र र महिला बेचबिखनमा पिल्सिएको समाजमा कृति केन्द्रित भएको जनाउँदै यस्ता विषयबारे राज्यलाई सम्झाउने काम यसमा गरिएको स्पष्ट गरेका छन् । लेखिका–अनुसन्धाता पौडेल भन्छिन्, ‘एउटा कालो पाटोलाई अलिकति च्यात्ने प्रयत्न मात्रै गरेकी हुँ । मलाई थाहा छ यो मैले एक्लै पार लाग्ने लडाइँ हुँदै होइन । तैपनि सबै चुप लाग्दा आवाजविहीनका आवाज सधैँ दबिएर रहने रहेछ । मैले चरीमाईको एउटा आवाज बोल्ने कोसिस मात्रै गरेकी हुँ ।’

कृतिमा कथा भन्ने शैली पुरानै छ । निकै प्रसङ्ग दोहोरिएका छन् र एकै वाक्यमा उही–उही शब्द पनि धेरै परेका छन् । कथावक्ता भूपेन्द्रका प्रसङ्ग अनावश्यक रूपले लम्बिएको हो कि भन्ने लाग्छ । एकै शब्दका पनि तीन–तीनवटा वर्णविन्न्यास (इसा, इशा, ईशा) देखिएका छन् भने अन्य त्रुटि (गोधिली, मस्जित, व्याज, बसाइँ, दैनिकी) पनि बर्गेल्ती नै छन् । ठाउँ–ठाउँमा नछुट्टिनुपर्ने दफा पनि छुट्टिन पुगेका छन्, जुन प्राविधिक गल्ती हो । विद्यार्थी वनभोज गएको स्थल नुवाकोटको झिल्टुङलाई मकवानपुरको टिस्टुङ उल्लेख गरेर लेखकले आफ्नो सामान्य ज्ञानको कमजोरी पनि प्रदर्शन गरेकी छिन् । सबभन्दा आश्चर्य त २२४ पृष्ठको उपन्यासमा पात्रबीच थुप्रै संवाद भए पनि अल्पविराम र उद्वरण चिह्न एकाध मात्र छन् । उपन्यासलेखनले नौलो शैली र प्रस्तुति लिइरहेको वर्तमान अवस्थामा युवा लेखकले पनि मौलिक नयाँ शैलीको प्रयोग गर्दा नै यस विधामा उन्नति हुँदै जाने विश्वास गर्न सकिन्छ ।