पत्रकार आचारसंहिताबारे अन्तक्रिया

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १४:३२

विदुर, स्थानीय सञ्चारमाध्यम र पत्रकार आचारसंहिताको विषयमा बुधबार नुवाकोटको विदुरमा प्रेस काउन्सिल नेपालको आयोजनामा अन्तक्रिया सम्पन्न भएको छ ।

नुवाकोट पत्रकार महासङ्घको संयोजनमा जिल्लाका क्रियाशील पत्रकारको सहभागितामा भएको अन्तक्रियामा प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिता र निर्देशिकाबारे जानकारी दिँदै पत्रकारिता पेसा मर्यादित बनाउन आचारसंहिता जरुरी रहेको बताए । नुवाकोट पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष नवदीप श्रेष्ठ ‘अजनवी’को सभापतित्वमा भएको कार्यक्रममा नुवाकोटको पत्रकारिताको इतिहास र सञ्चारमाध्यमको अवस्थाबारे नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले जानकारी दिँदै सञ्चारमाध्यम र पत्रकार नाजुक अवस्थामा रहेको चित्रण गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुरप्रसाद बेलवासेले पत्रकारिताबिनाको लोकतान्त्रिक व्यवस्था सबल र सुदृढ हुन नसक्ने भएकाले सरकारले सञ्चारमाध्यम र पत्रकारलाई टिकाउन कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । कार्यक्रमका प्रमुख व्यक्तित्व प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ऐन–कानुनले दिएको अधिकार प्रयोग गरी सञ्चारमाध्यमलाई जोगाउने, टिकाउने जिम्मा काउन्सिलको रहेको बताए । सञ्चारमाध्यम राज्यको सम्पत्ति भएकाले यसलाई बलियो, विश्वासनीय बनाउन सरकारसँग समन्वय गरेर प्रेस काउन्सिल लागिरहेको उनले बताए । अन्तत्र्रिmयामा प्राप्त सल्लाह, सुझावलाई मार्ग निर्देशनको रूपमा लिएकोसमेत उनले जानकारी दिए ।