चार महिनाको काम तीन महिनामा नै सम्पन्न

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १५:३७

खरानीटार, नुवाकोटको तादी गाउँपालिका–३ मा रहेको ‘खरानीटार–दोर्खुखोला सडक योजना’ को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौताअनुुसार गत मङ्सिर २१ देखि काम सुरु गरेर चैत मसान्तसम्ममा पूरा गर्नुपर्नेमा फागुन तेस्रो साता नै काम सम्पन्न भएको हो ।

रोहना कन्स्ट्रक्सनमार्फत गरिएको उक्त सडकको स्तरोन्नतिको काम तोकिएको गुणस्तरअनुसार नै सम्पन्न भएको प्राविधिक अनुगमनमा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिइन् । उनका अनुसार पालिकाको नियमित अनुगमन, निर्माण व्यवसायीको इमानदारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ । सडक स्तरोन्नतिका लागि करबाहेक गाउँपालिकाले एक करोड १२ लाखमा बोलपत्र आह्वान गरेको थियो । उक्त योजनालाई करबाहेक ७५ लाख ९१ हजारमा सम्पन्न गर्ने सम्झौताअनुसार काम सम्पन्न भएको हो । प्राविधिक प्रतिवेदनअनुसार खरानीटारदेखि दोर्खुखोलासम्म ढलान, ग्याबिन बक्स, ढलनाली निर्माणलगायतका कार्य गरिएको निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि र कर्मचारीको सहयोग, स्थानीय जनशक्तिको परिचालन, ‘सिफ्ट’ बनाएर नियमित काम गरिएकाले चार महिनाको काम तीन महिना पूरा नहँुदै सम्पन्न गरिएको छ । ‘जाडो मौसम र छोटो दिन भए पनि मङ्सिरबाट सुरु भएको कामको रफ्तारलाई नियमित बनाई लक्ष्य अगावै काम पूरा गर्न सकिएको हो ।’ कम्पनीका प्रतिनिधि शर्माले भने, ‘विकास निर्माणमा प्राप्त बजेटको सही कार्यान्वयन गर्न सकेमा जनतालाई व्यवस्थित सडकमा आउजाउ गराउन सकिन्छ भन्ने सन्देश दिएका छौँ ।’

तादी गाउँपालिका–३ खरानीटारबाट दोर्खुखोला हुँदै तादी गाउँपालिका–१ उर्लेनीसम्म पुग्ने उक्त सडकमा चालू आर्थिक वर्षमा करिब ६ किलोमिटरको स्तरोन्नति सकिएको छ । सो कार्यले जिल्लाको दुर्गम स्थान उर्लेनी, लच्याङका बासिन्दालाई पालिकाको केन्द्र खरानीटार हुँदै जिल्लाको सदरमुकाम विदुर र राजधानी काठमाडौं आउजाउ गर्न सहज बनाएको छ । बागमती प्रदेश सरकार र तादी गाउँपालिकाको संयुक्त लगानीमा विनियोजित बजेटबाट उक्त कार्य पूरा भएको हो । खरानीटार–दोर्खुखोलासम्मको सडकको स्तरोन्नति सम्पन्न भएसँगै बजेटले साथ दिएमा उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार दोर्खुखोलामा ४१ मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएकाले उक्त सडकको स्तरोन्नति गर्न सकेमा बाह्रै महिना यातायात सञ्चालन गराउन सक्ने बनाउन थप बजेटका लागि पहल भइरहेको छ । बागमती प्रदेश सभा सदस्य राधिका तामाङको पहलमा निर्माण भइरहेको उक्त योजनाअन्तर्गत दोर्खुखोलामा हालै सम्पन्न भएको पक्की पुलको काम पनि दुई वर्षमा सक्ने जिम्मा दिएकोमा निर्माण कम्पनीले एक वर्ष अगावै पूरा गरेर हस्तान्तरण गरेको छ ।