ब्याडमिन्टन कभर्डहल निर्माण सुरु

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १५:४१

बट्टार, युवाहरूबीच लोकप्रिय बनिरहेको ब्याडमिन्टन खेललाई व्यवस्थित गर्न नुवाकोट ब्याडमिन्टन सङ्घको पहलमा विदुर नगरपालिका–२ को नागटारीमा कभर्डहल निर्माणको शिलान्यास भएको छ । बागमती प्रदेश सरकारको तीन करोड ११ लाख आर्थिक लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको ब्याडमिन्टन कभर्डहल निर्माण शुभारम्भ भएको हो ।

ब्याडमिन्टन कभर्डहलको निर्माणको शिलान्यास बागमती प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले शुक्रबार गरेका हुन् । उनले उद्घाटन मन्तव्य दिँदै कभर्डहल निर्माणसँगै काठमाडौंसँग जोडिएको नुवाकोटमै राष्ट्रिय प्रतियोगिता गर्न र खेलाडी उत्पादन गर्न सहज हुने बताए । उनकै पहलमा कर्भडहल निर्माणका लागि प्रदेश सरकारबाट उक्त बजेट विनियोजन भएको सङ्घका सदस्य एवम् कभर्डहलको डिपिआर डिजाइन गर्ने इन्जिनियर सुरज तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । स्थानीयस्तरबाटै राष्ट्रिय प्रतियोगिता र ब्याडमिन्टन खेलको विकास र विस्तारका लागि सहयोग पुर्याउन कभर्डहल निर्माणको थालनी भएको नुवाकोट ब्याडमिन्टन सङ्घका अध्यक्ष धनसिंह तामाङले जानकारी दिए ।