पत्रकार आचारसंहिताबारे अन्तरक्रिया

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०८०, शुक्रबार १६:१२

धुन्चे, स्थानीय सञ्चार माध्यम र पत्रकार आचारसंहिताको विषयमा चैत्र १ गते बिहीबार धुन्चेमा प्रेस काउन्सिल नेपालको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ ।

पत्रकार महासंघ रसुवाको संयोजकत्वमा जिल्लाका क्रियाशील पत्रकारको सहभागितामा भएको अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुषालले पत्रकार आचारसंहिता र निर्देशिकाबारे जानकारी दिंदै यसलाई थप मर्यादित र अनुशासित बनाउन आचारसंहिता जरूरी रहेको बताउनु भयो । रसुवा पत्रकार महासंघका सदस्य सरस्वती न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा रसुवाको पत्रकारिताको इतिहास र सञ्चारमाध्यमको अवस्थाबारे नेपाल पत्रकार महासंघ रसुवाका पूर्व अध्यक्ष हेमनाथ खतिवडा, जेष्ठ पत्रकार ज्ञानेन्द्र न्यौपाने, कान्तिपुर दैनिकका जिल्ला प्रतिनिधी बलराम घिमिरेले रसुवाको पत्रकारिताको विषयमा आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ऐन कानुनले दिएको अधिकार प्रयोग गरी सञ्चारमाध्यमलाई टिकाउने जिम्मेवारी रहेको र पत्रकारले पनि म के–का लागि काम गरिरहेछु, म को हु भनेर आफु आफ्नो अस्तित्वमा रहनुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा उठेका सल्लाह सुझावलाई मार्ग निर्देशनको रूपमा आगामी दिनमा राम्रो गर्दै लाने समेत उनले प्रतिबद्धता जनाए । कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले आधुनिक शैलीको रूपमा रहेको पत्रकारिता राजनीतिमैत्री नभई स्वच्छ निस्पक्षरूपको हुन जरूरी रहेको बताउनु भयो । पत्रकारको स्तरीयता बृद्धिको लागि आचारसंहिता महत्वपूर्ण रहेको समेत उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक सुबास बुढाथोकीले प्रहरी र पत्रकारबिच सूचना आदान–प्रदान सहजरूपमा भईरहेको बताउनुभयो । उक्त कार्यक्रममा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले पत्रकारिता समाजको ऐना भएकोले यसमा संलग्न पत्रकार अनुशासित, जिम्मेवार र नागरिकको विश्वासको पात्र हुनुपर्ने धारणा राख्नुभयो ।