बट्टार सहकारीको वनभोजमा अन्तक्रिया

  • त्रिशूली प्रवाह
  • ८ चैत्र २०८०, बिहीबार १२:११

बट्टार, नुवाकोट जिल्लामा रहेका सहकारी संस्थामध्येको धेरै सेयर सदस्य भएको विदुर नगरपालिका–४ मा रहेको बट्टार सहकारी संस्था लि.को शनिबार बृहत् वनभोज तथा सहकारीको विषयमा अन्तक्रिया सम्पन्न भएको छ ।

सहकारीले हरेक वर्ष सेयर सदस्यबीच अन्तक्रिया र बृहत् वनभोज तथा परिचयात्मक कार्यक्रम गर्ने गरेको छ । ०५३ सालमा स्थापना भई सञ्चालनमा रहेको सहकारीले शनिबार बेलकोटगढी नगरपालिकाको काशीटारको त्रिशूलीबगरमा सम्पन्न वनभोज कार्यक्रममा सहकारीका अध्यक्ष टलकमान श्रेष्ठले सहकारीको समग्र गतिविधिबारे विस्तृत जानकारी गराए । सञ्चालक सदस्य राजकुमार आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहकारीकी उपाध्यक्ष मेनुका श्रेष्ठले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । सहकारीका सल्लाहकार मोहन खड्का, निवर्तमान अध्यक्ष ओमप्रकाश श्रेष्ठ, पूर्वअध्यक्ष धर्मभक्त श्रेष्ठ, कानुनी सल्लाहकार द्वारिकाप्रसाद पाण्डेलगायतले सहकारीको महत्व र आवश्यकताबारे बोलेका थिए । सो कार्यक्रममा लेखा समितिका संयोजक नवराज न्यौपानेले वित्तीय विवरण प्रस्तुत गरेको व्यवस्थापक हरिप्रसाद जोशीले जानकारी दिए । सहकारीमा चार सय ९६ जना सेयर सदस्य र २१ सय साधारण सेयर सदस्य रहेका छन् । अन्तक्र्रिया कार्यक्रममा सहकारीका सेयर सदस्यले सहकारीले गरिरहेको कारोबारको अवस्था र सञ्चालनबारे प्रश्न सोधेका थिए । सेयर सदस्यको प्रश्नको जवाफ अध्यक्ष टलकमान श्रेष्ठले दिएका थिए ।