काठमाडौंदेखि ठूलोस्याफ्रुसम्म टाटासुमो सञ्चालन

  • त्रिशूली प्रवाह
  • ८ चैत्र २०८०, बिहीबार १२:१५

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ ठूलोस्याफ्रुबाट काठमाडौंको बालाजुसम्म चैत २ गतेदेखि टाटासुमो सञ्चालनमा आएको छ ।
मिनी गोसाइँकुण्ड यातायात प्रा.लि.ले काठमाडौंदेखि ठूलोस्याफ्रु र ठूलोस्याफ्रुदेखि काठमाडौंसम्म दैनिक रूपमा टाटासुमो गाडी सञ्चालनमा ल्याएको हो । टाटासुमो सञ्चालन भएदेखि यस भेगका स्थानीय काठमाडौं आवत–जावतमा सुविधा भएपछि दङ्ग भएका छन् ।

काठमाडौं ठूलोस्याफ्रुको भाडादर १,३५० रुपैयाँ तोकिएको छ । रसुवाको पर्यटकीय गन्तव्य क्षेत्रको रूपमा रहेको ठूलोस्याफ्रु क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटक बढाउन मद्दत मिल्ने र स्थानीय जनतालाई सरल तथा सहज आवात–जावत होस् भन्ने हेतुले यातायात सञ्चालनमा ल्याएको यातायात प्रा.लि.का अध्यक्ष टेम्पानुर्पु तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । ‘पर्यटकीय स्थलको रूट भएकाले ठूलोस्याफ्रुका स्थानीयलाई एकदमै सुविधा होस् भन्नका लागि विकास निर्माणको एक हिस्सा सडक भएकाले सडकको निर्माण स्तरोन्नति गरी यातायात सञ्चालन गरेको’ गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर– ५ का अध्यक्ष दावामिङ्मार तामाङले बताए । सडक सुधारको जिम्मा वडाले लिने भएपछि टाटासुमो नियमित सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् । टाटासुमो सञ्चालन भएपछि काठमाडौंबाट बिहान साढे ७ बजे र ठूलोस्याफ्रुबाट पनि साढे ७ बजे नै छुट्ने गरेको छ ।

यो गाउँ पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रमा यातायातको खाँचो थियो, आज पूरा भएको छ । यसलाई निरन्तरता दिनुपर्ने गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । दूरदराजका बस्तीमा सडक सञ्जाल र यातायातको सुविधा हुनु गर्वको कुरा रहेको ठूलोस्याफ्रुका होटेल व्यवसायी ग्याल्साङ तामाङले बताए । सडक सानो र उकालो भएकाले यातायातका ठूला साधन नियमित सञ्चालन गर्न कठिन भए पनि टाटासुमो सञ्चालन हुन थालेपछि यस क्षेत्रमा होटेल व्यवसाय चल्ने विश्वास गरेर थप सेवा सुविधा विस्तार गरेको होटेल व्यवसायी तेम्पा सोनाम तामाङ, बाबु लामा, छोवाङ नामग्याल तामाङ र दमै सिङ्गी तामाङले बताएका छन् ।