करको दर होइन, दायरा बढाउन नुवाकोटका व्यवसायीको माग

  • त्रिशूली प्रवाह
  • ८ चैत्र २०८०, बिहीबार १२:५८

विदुर, नुवाकोटको विदुर नगरपालिकाभित्रका करदाता र सरोकारवालाबीच करसम्बन्धी बृहत् अन्तक्र्रिया शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रमका सहभागी नगरपालिकाका व्यवसायीले करको दर होइन, दायरा बढाउने सुझाव दिएका छन् । व्यवसायीले करसँग सम्बन्धित निकायलाई करको दायरा फराकिलो बनाउन माग गरेका छन् ।

विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको संयोजन नुवाकोट उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कमर्स नुवाकोटले गरेको थियो । सो कार्यक्रममा उद्योग, व्यापार टिकाउन र व्यवसायी टिक्न नसक्ने अवस्था आएको सहभागीले बताएका थिए । उक्त कार्यक्रमका सहभागीले विदुर नगरपालिकाले राजस्व सङ्कलनको बहानामा कर मात्रै बढाउने गरेको बताएका थिए । करका दायरा बढाएर उद्योग, व्यवसाय तथा करदाताको संरक्षण गरिनुपर्नेमा सुझाव होटेल व्यवसायी सङ्घले दिएको छ । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहित पदाधिकारी र उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुखसहित नगरभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको उपस्थितिमा करसम्बन्धी बृहत् छलफल तथा अन्तक्र्रिया सम्पन्न भएको छ । अन्तक्र्रियाबाट प्राप्त सल्लाह, सुझावअनुसार आगामी दिनमा राजस्व र कर सङ्कलनलाई प्रभावकारी बनाउने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए । विकसित घटनाक्रम र करदाताप्रति बढेको सचेतनाका कारण कर र राजस्व सङ्कलन कार्य सकारात्मक हुने र स्थानीय तह सञ्चालनका लागि कर तथा राजस्वसमेत प्रभावकारी रहने उनले बताए । कार्यक्रममा उपमेयर प्रभा बोगटीले नियम र प्रावधानअनुसार जुनसुकै उद्योग व्यवसाय तथा बहाल कर तिर्नु करदाताको दायित्व भएको बताइन् । सभ्य करदाताले स्वतस्फूर्त रूपमा कर तिरिरहेकोसमेत उनले जानकारी दिइन् ।